“हाम्रो प्रयास”द्वारा अर्गानिक साबुनदेखि ह्याण्डवास बनाउने सीपमूलक तालिम को उद्घाटन
विराटनगर–७ मा अवस्थित सामाजिक संस्था **‘हाम्रो प्रयास’**को आयोजनामा अर्गानिक नुहाउने साबुन, सर्फ, लिक्विड झोल, फिनेल तथा ह्याण्डवास (हर्पिक) बनाउने एक साताको सीपमूलक तालिम उद्घाटन भै सुरु भएको छ। विराटनगर महानगरपालिकाको सहयोग तथा सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम बैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ।
तालिमको उद्घाटन वडा नं. ७ का अध्यक्ष मधु बाबु तिवारीले संस्थाको कार्यालय परिसरमा पञ्चदीप प्रज्वलन गरी एक विशेष कार्यक्रमबीच गरेका हुन्। उद्घाटन समारोहमा उनले सहभागीहरूलाई सीप सिकेर स्वरोजगार बन्न प्रेरित गर्दै भने, “यो तालिम केवल प्रमाणपत्रका लागि मात्र होइन, सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुस्। उत्पादन गर्नुस्, हामी बजार व्यवस्थापनमा सहयोग गर्न तयार छौं। आत्मनिर्भर बन्ने बाटो यही हो।”
कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष सावित्री ढकालले गर्नुभएको थियो भने तालिम संयोजकका रूपमा संस्थाकी सदस्य गीता पोखरेल रहनुभएको छ। स्वागत मन्तव्य सचिव बाला पोखरेलले राख्नुभएको थियो। कार्यक्रम सञ्चालन कोषाध्यक्षले गर्नुभएको थियो। साथै उपाध्यक्ष प्रविशा ढकालसहित कार्यसमिति सदस्यहरूको समेत उपस्थिति रहेको थियो।
तालिममा २० जना महिला सहभागी रहेका छन्। हाम्रो सस्था बाट तालिम लि अहिले प्रशिक्षक बनेकी सबिना खतिवडा र ज्ञानु थापा राउतले सहभागीहरूलाई घरमै सजिलै उत्पादन गर्न सकिने अर्गानिक तथा सरसफाइजन्य सामग्रीहरूको व्यावहारिक प्रशिक्षण प्रदान गरिरहेका छन्।
उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकार वरिष्ठ पत्रकार भोजराज घिमिरे, कार्यकारी सदस्यहरू कमला ढकाल र सीमा खड्काको पनि उपस्थिति रहेको थियो। अतिथिहरूले यस्ता सीपमूलक तालिमहरूले महिलालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
संस्थाकी अध्यक्ष सावित्री ढकालका अनुसार, **‘हाम्रो प्रयास’**ले विगतदेखि नै बाढीपीडितलाई राहत वितरण, जाडोमा कम्बल तथा लत्ता वितरण, साथै विभिन्न व्यावसायिक सीप तालिम सञ्चालन गर्दै आएको छ। आगामी दिनमा यस्ता तालिमहरू अन्य वडाहरूमा समेत विस्तार गर्ने योजना रहेको संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया