मोरङ, वैशाख ९ — पूर्वाञ्चल विश्वविद्यालय ले आफ्नो १४औँ दीक्षान्त समारोह भव्य तथा गरिमामय रूपमा सम्पन्न गरेको छ। मोरङको सुन्दरहरैचा–गोठगाउँस्थित केन्द्रीय कार्यालयमा मंगलबार आयोजित समारोहमा कुल ६ हजार ७०६ विद्यार्थी दीक्षित भएका छन्।
दीक्षान्त समारोहसँगै विश्वविद्यालयको ४२औँ विशेष सभा बैठकसमेत सम्पन्न भएको थियो। समारोह सहकुलपति तथा शिक्षामन्त्री सस्मित पोखरेल को अध्यक्षतामा सम्पन्न भएको हो।

समारोहमा स्नातक, स्नातकोत्तर तथा एमफिल तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विश्वविद्यालयका अनुसार स्नातक तहबाट ५ हजार २८८, स्नातकोत्तर तहबाट १ हजार ४१३ तथा एमफिल तहबाट ५ जना विद्यार्थी दीक्षित भएका छन्।
संकायगत रूपमा व्यवस्थापन संकायबाट सबैभन्दा बढी २ हजार २६४ विद्यार्थी दीक्षित भएका छन्। त्यसपछि इन्जिनियरिङतर्फ १ हजार २६२, विज्ञान तथा प्रविधितर्फ ७४७, चिकित्सा तथा सहायक स्वास्थ्य विज्ञानतर्फ ६२४, कानुन संकायतर्फ ६२२, शिक्षा संकायबाट ९९८ र मानविकी संकायबाट १८४ विद्यार्थी दीक्षित भएका छन्।

समारोहलाई सम्बोधन गर्दै सहकुलपति पोखरेलले विश्व परिवेशमा तीव्र रूपमा भइरहेको परिवर्तनसँगै शिक्षा प्रणालीलाई प्रविधिमैत्री, व्यवहारिक र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले दीक्षित विद्यार्थीहरूलाई आफ्नो ज्ञान, सीप र क्षमता राष्ट्र निर्माणमा प्रयोग गर्न आग्रह गर्दै उच्च शिक्षालाई गुणस्तरीय र रोजगारीमुखी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो। साथै विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राखी शैक्षिक उत्कृष्टता, अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा Postgraduate Institute of Medical Education and Research (PGIMER) का निर्देशक विवेक लाल को उपस्थिति रहेको थियो। उहाँले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालयहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
समारोहका क्रममा विभिन्न संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
वि.सं. २०५० सालमा स्थापना भएको विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, मानविकी, कानुन तथा चिकित्सा शिक्षा लगायतका क्षेत्रमा अध्यापन गर्दै आएको छ। हाल १५० भन्दा बढी आंगिक तथा सम्बन्धन प्राप्त कलेजमार्फत विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ भने एमफिल तथा पीएचडी जस्ता अनुसन्धानमुखी कार्यक्रम सञ्चालनमा छन्।

समारोहमा उपकुलपति डा. बिजु कुमार थपलिया, रजिस्ट्रार डा. कल्याणी मिश्र त्रिपाठी, चिकित्सा शास्त्र संकायका डिन डा. शैलेशमणी पोख्रेल तथा व्यवस्थापन संकायका डिन सन्देशदास श्रेष्ठ लगायतले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै आफ्नो ज्ञान र सीप समाज तथा राष्ट्रको सेवामा उपयोग गर्न आग्रह गर्नुभयो।उहाँहरूले दीक्षान्तलाई शैक्षिक उपलब्धिको अन्त्य नभई जीवनको नयाँ सुरुवातका रूपमा लिनुपर्ने उल्लेख गर्दै प्रतिस्पर्धात्मक विश्वमा सक्षम, नैतिक र जिम्मेवार नागरिकका रूपमा स्थापित हुन प्रेरित गर्नुभयो। यस वर्षको दीक्षान्त समारोह विगतका वर्षहरूको तुलनामा विशेष तामझामबिना सरल र सहज रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया