विराटनगर — गर्मीयाम सुरु भएसँगै सम्भावित आगलागीका घटनालाई लक्षित गर्दै मोरङ प्रशासनले जिल्लाभरका स्थानीय तहलाई वारुणयन्त्र (दमकल) सेवा तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। जिल्ला सुरक्षा समन्वय समिति मोरङको बैठकले आगलागी नियन्त्रणका लागि आवश्यक उपकरण, जनशक्ति र पूर्वतयारी चुस्त राख्न आग्रह गरेको हो।

यसैक्रममा आइतबार बिहान स्थानीय प्रशासनको टोलीले विराटनगर महानगरपालिकाको वारुणयन्त्र शाखामा आकस्मिक निरीक्षण गरेको छ। विराटनगर–३ स्थित उक्त शाखामा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको नेतृत्वमा पुगेको टोलीले दमकलको प्राविधिक अवस्था, सञ्चालन क्षमता तथा पानी फाल्ने प्रणालीको परीक्षण गरेको थियो।

निरीक्षणका क्रममा दमकल स्टार्ट गरेर पानीको फोहोरासमेत परीक्षण गरिएको र सेवा सन्तोषजनक अवस्थामा रहेको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार गर्मीयाममा आगलागीका घटना बढ्ने सम्भावना उच्च हुने भएकाले सबै स्थानीय तहले दमकल सेवा तयारी अवस्थामा राख्नु अत्यावश्यक छ।

“विराटनगर महानगरपालिकाको वारुणयन्त्र शाखा चुस्त अवस्थामा भेटिएको छ, यसले हामीलाई उत्साहित बनाएको छ,” कोइरालाले भने, “अन्य स्थानीय तहले पनि यस्तै तयारी कायम गर्नुपर्छ।”

प्रशासनका अनुसार मोरङका १७ स्थानीय तहमध्ये हाल १२ वटा दमकल सञ्चालनमा छन्। लामो समयपछि प्रशासनले दमकलको अवस्थाबारे चासो लिएर निरीक्षण थालेको हो। प्रशासनले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया