काठमाडौं- माननीय गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका महामहिम राजदूत तोरु मायदाबीच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटका अवसरमा राजदूत तोरुले गृहमन्त्री गुरुङलाई नयाँ कार्यकालको सफलताका लागि बधाई तथा शुभकामना व्यक्त गरे।
भेटघाटका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्धका विविध पक्षमा छलफल भएको थियो। जापान सरकारले नेपालको आर्थिक-सामाजिक विकासमा पुर्याउँदै आएको निरन्तर सहयोगको चर्चा गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्यलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा संवाद भएको छ।
गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुङ्गा टनेल मार्ग परियोजना लगायतका पूर्वाधार विकासमा जापानको सहयोगको प्रशंसा गरे। यस्ता आयोजनाहरूले नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको उनले उल्लेख गरे।
भेटका क्रममा विपद् जोखिम न्यूनीकरण तथा नेपालमा विपद् व्यवस्थापनसम्बन्धी अध्ययन तथा खोज अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्नेबारे छलफल भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
गृहमन्त्रीले जापानमा रहेका नेपाली नागरिकहरूप्रति जापानी सरकारले अपनाएको सकारात्मक नीतिको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे। जवाफमा राजदूत तोरुले नेपालीहरू जापानी समाजमा सहज रूपमा समाहित भई प्रभावकारी योगदान पुर्याइरहेको बताउँदै नेपाल–जापान आप्रवासन सहकार्यलाई थप व्यवस्थित बनाउन जापान प्रतिबद्ध रहेको उल्लेख गरे।







