विराटनगर । नेपाल–भारत खुला सीमाको व्यस्त नाका रानी–जोगबनी क्षेत्रमा तस्करीको नयाँ र चकित पार्ने शैली फेला परेको छ। दैनिक हजारौँ मानिस र मालसामानको ओहोरदोहोर हुने यही नाकालाई आधार बनाएर केही घरधनीले आफ्नै घरभित्र ‘चोर ढोका’ निर्माण गरी अवैध आवतजावतको बाटो बनाएको पाइएको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल नेतृत्वको टोलीले बुधबार र बिहीबार गरेको अनुगमनका क्रममा विराटनगर–१६ स्थित एक नम्बर ढाट आसपासका घरहरूमा यस्ता संरचना भेटिएका हुन्। इँटाले बनेका पक्की घरहरूभित्रैबाट भारततर्फ खुल्ने फलामका गोप्य ढोका बनाइएको पाइएको छ। ती ढोकाबाट सहजै भारत पुग्न र उताबाट अवैध सामान भित्र्याउन सकिने अवस्था रहेको प्रशासनको निष्कर्ष छ।

प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार विशेष सूचनाका आधारमा गरिएको खानतलासीमा यी घरहरूलाई लागुऔषध तथा तस्करीका सामान ओसारपसार गर्ने ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा प्रयोग गरिएको पुष्टि भएको हो। घरसँगै सञ्चालन गरिएका साना होटल तथा पसलहरूमा दाल, चामल, तेल, साबुन जस्ता दैनिक उपभोग्य वस्तुसँगै अवैध मदिराको कारोबार समेत भइरहेको फेला परेको छ।

भारतबाट आउने ग्राहकलाई लक्षित गरी खोलिएका यस्ता धेरैजसो पसल तथा होटल दर्ताविहीन रहेको र राजस्व छली भइरहेको पनि अनुगमनले देखाएको छ। आन्तरिक राजस्व कार्यालयको सहभागितामा गरिएको कारबाहीमा दर्जनौँ व्यवसायलाई जरिवाना गर्नुका साथै दर्ता प्रक्रियामा ल्याउने काम सुरु गरिएको प्रशासनले जनाएको छ।

६३ किलोमिटर खुला सीमा क्षेत्र रहेको मोरङमा यस्ता संरचनाले सुरक्षा चुनौती बढाएको भन्दै प्रशासनले सीमा क्षेत्रका घरधनीलाई सात दिनभित्र भारततर्फ खोलिएका सबै अवैध ढोका बन्द गरी इँटाको पर्खाल लगाउन निर्देशन दिएको छ। तोकिएको समयभित्र अटेर गरे कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

तपाईको प्रतिक्रिया