भोजपुर, चैत्र २३ — नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा आज भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकामा बीमा सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश कार्यालयकी प्रमुख प्रीति देवको सभाध्यक्षता रहेको थियो भने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राई विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । कार्यक्रमका क्रममा प्राधिकरणका सहायक निर्देशक सचिन राई ले बीमा सम्बन्धी विभिन्न विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।

प्रस्तुतीकरणमा नेपाल बीमा प्राधिकरणको परिचय, यसको काम, कर्तव्य र अधिकार, जोखिम तथा जोखिम व्यवस्थापन, बीमाको महत्व, बीमाका प्रकार, बीमा प्रक्रिया, बीमाशुल्क गणनाका उदाहरण, सरकारी अनुदान व्यवस्था, उजुरी सम्बन्धी प्रावधान तथा अनिवार्य बीमा सम्बन्धी व्यवस्था समेटिएको थियो। साथै, टेम्केमैयुङ गाउँपालिकासँगको समन्वय तथा प्राधिकरणका नीतिगत भूमिकाबारे पनि जानकारी गराइएको थियो ।
टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बीमाका प्रावधान नबुझेरै समस्या भोग्नु परेको साथै बीमक र पालिका तथा वडा मिलेर कार्यक्रम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले आफनो जिवनमा आईपर्ने आर्थिक क्षतिलाई न्युनिकरणका लागी बीमा अपरिहार्य भएको बताउर्दै सम्पुर्णले बीमाको विषयमा जानकार हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले राखेका जिज्ञासाहरूको सम्बोधन सम्बन्धित पक्ष तथा सभाध्यक्षबाट गरिएको थियो । कार्यक्रममा विशेष तथा प्रमुख अतिथिहरूले मन्तव्य राख्दै बीमा सेवाको पहुँच विस्तार र जनचेतना अभिवृद्धिको आवश्यकता औँल्याएका थिए । अन्त्यमा सभाध्यक्ष प्रीति देवले कार्यक्रमको समापन गर्दै यस्ता कार्यक्रमहरूले स्थानीय तहमा बीमा सम्बन्धी ज्ञान विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया