उदयपुर : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक गाईघाट शाखाकी एक कर्मचारीलाई ग्राहकको खाताबाट करिब दुई करोड रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

त्रियुगा नगरपालिका–५ निवासी सुनिता बानियाँलाई २६ जना ग्राहकको रकम अनधिकृत रूपमा प्रयोग गरेको अभियोगमा नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख राजन चापागाईंका अनुसार बानियाँले उक्त रकम अनलाइन बेटिङमा प्रयोग गरेको प्रारम्भिक बयान दिएकी छन्।

बैंकले ग्राहकको रकम हिनामिना भएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले बानियाँविरुद्ध बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।

साथै, यस घटनामा अन्य व्यक्तिको संलग्नता रहे, नरहेको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया