विराटनगर, चैत १८ — विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले कक्षा १ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई एक समारोहबीच दीक्षित गरेको छ। विराटनगरकै कन्चनजङ्घा बैंक्वेटमा आयोजित दीक्षान्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरी, भाइस प्रिन्सिपल टीएन भण्डारी र कुन्दन पुरीले विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।
दीक्षित विद्यार्थीहरूलाई प्राथमिक तह पार गर्दै उच्च शिक्षामा सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा कक्षा १ का विद्यार्थीहरू आरोन घिमिरे, कास्भी झा, शब्दित दाहाल र आरोही यादवले आ–आफ्नो कक्षाको प्रतिनिधित्व गर्दै विद्यालय तथा शिक्षकप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पुरीले एभरेष्ट स्कुलका विद्यार्थीहरूलाई सबै क्षेत्रमा उत्कृष्ट बनाउने लक्ष्यका साथ विद्यालयले काम गरिरहेको बताए। उनले विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विभिन्न संस्थाहरूसँग सहकार्य गरिएको उल्लेख गर्दै एभरेष्टका विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम हुने विश्वास व्यक्त गरे।
त्यस्तै, मन्टेश्वरी तहकी इन्चार्ज आरती घिमिरेले गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रशासन, अभिभावक र शिक्षक–शिक्षिकाबीचको सहकार्य महत्वपूर्ण रहेको बताइन्। अभिभावकका तर्फबाट बोल्दै पवित्रा बाँस्तोलाले विद्यालयले उपलब्ध गराएको शैक्षिक वातावरणप्रति सन्तुष्टि व्यक्त गर्दै एभरेष्ट स्कुलले गरेका नविन अभ्यासहरू प्रशंसनीय रहेको धारणा राखिन्।
कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







