काठमाण्डौं । चीनले सन् २०२६ देखि २०३० सम्म कार्यान्वयन हुने १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ। यस योजनालाई चीनको भावी विकासको मार्गचित्रका रूपमा लिइएको छ, जसले विश्व अर्थतन्त्रमा आफ्नो अग्रसरता कायम राख्ने रणनीतिलाई समेत समेटेको छ।
अनुसन्धानकर्ता डा. सीता ढुंगानाका अनुसार योजना दुई चरणको व्यापक छलफल तथा जनपरामर्शपछि तयार पारिएको हो। योजनाको कार्यान्वयन तथा आवश्यक कानुन निर्माणको जिम्मेवारी नेशनल पिपुल्स कंग्रेसले लिनेछ भने चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनले सल्लाहकारको भूमिका निर्वाह गर्नेछ।
यस योजनाले चीनलाई विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बनाउने लक्ष्य राखेको छ। आर्थिक वृद्धिदरलाई ४.५ देखि ५.५ प्रतिशतसम्म कायम गर्ने महत्वाकांक्षी लक्ष्य तय गरिएको छ भने अर्थतन्त्रको आकार उल्लेखनीय रूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ।
डा. ढुंगानाले यस योजनालाई ‘मास्टर गाइडिङ डकुमेन्ट’ का रूपमा व्याख्या गर्नुभएको छ, जसले आगामी पाँच वर्षका लागि राज्य नीति तथा स्रोत व्यवस्थापनलाई दिशा दिनेछ।
योजनाको प्रस्तावनामै विज्ञान र प्रविधिलाई आगामी पाँच वर्षको राष्ट्रिय विकासको प्रमुख चालक शक्ति बनाइने स्पष्ट गरिएको छ। साथै, चीनले प्रविधिमा पूर्ण आत्मनिर्भरता हासिल गर्ने दीर्घकालीन लक्ष्य पनि अघि सारेको छ।







