तनहुँ/ तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने वन क्षेत्रका रुखहरूमा छपान (मार्किङ) कार्य सुरु गरिएको छ। आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको मार्गधिकारभित्र पर्ने राष्ट्रिय वनका रुखहरू चिन्ह लगाउने काम अघि बढाइएको हो।
प्रसारण लाइन निर्माणका लागि आवश्यक टावर स्थापना र मार्गधिकारभित्र पर्ने वन क्षेत्रको जमिन तथा त्यहाँ रहेका बोटबिरुवा हटाउन तनहुँ हाइड्रोपावर लिमिटेड र वन तथा भूसंरक्षण विभागबीच सम्झौता भइसकेको छ। सोहीअनुसार तनहुँ र चितवनका ९२.७ हेक्टर वन क्षेत्रको भोगाधिकार प्राप्त भई ९,१२७ रुख हटाउने अनुमति समेत मिलेको छ।
यस परियोजनाको प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी, ३३ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ। भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले ९४ वटा टावरमध्ये हालसम्म ७८ वटाको जग हालिसकेको र ६९ वटा टावर जडान गरिसकेको छ। यस प्याकेजको कुल प्रगति ७६ प्रतिशत पुगेको छ।
परियोजनाका तीनवटै प्याकेजमा एकसाथ काम भइरहेको छ। प्याकेज–१ अन्तर्गत बाँध तथा सम्बन्धित संरचना निर्माण सोङ्दा कालिका जेभीले गरिरहेको छ, जसको प्रगति ५४ प्रतिशत छ। यसअन्तर्गत पहुँच सडक, डाँडा कटान, अस्थायी बाँध निर्माण, सेती नदीको धार परिवर्तनका लागि आवश्यक संरचना तथा दुईवटा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेका छन्। सेती नदीलाई २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो भने २०८१ जेठमा अस्थायी बाँध निर्माण सम्पन्न भएको थियो।
प्याकेज–२ अन्तर्गत विद्युत्गृह र सम्बन्धित संरचना निर्माण चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। भूमिगत संरचनाका लागि खन्ने काम सकिएर अधिकांश सिभिल निर्माण कार्य पूरा भइसकेको छ। विद्युत्गृह, केवल सुरुङ, सर्च ट्याङ्क र टेलरेसजस्ता संरचनामा मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको छ। यस प्याकेजको समग्र प्रगति ७३ प्रतिशत पुगेको छ भने अहिले इलेक्ट्रोमेकानिकल कार्य जारी छ।







