७ चैत/ उर्लाबारी
सुनसरीको तरहरा चोकमा शनिबार सम्पन्न तेस्रो संस्करणको तरहरा रन २०८२ मा उर्लाबारी रनर समूहकी मन्दिरा महतरा यू–१६ विधामा प्रथम भएकी छन्।
१० किलोमिटर दौडअन्तर्गत यू–१६ महिला विधामा उत्कृष्ट प्रदर्शन गर्दै महतराले पहिलो स्थान हासिल गरेकी हुन्। जितसँगै उनले नगद १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन्।
शनिबार बिहान आयोजित उक्त रनमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत सहभागी भएका थिए । सो रनमा करिब ५ हजारभन्दा बढी धावकहरूले प्रतिस्पर्धा गरेका थिए।
उर्लाबारीबाट विभिन्न उमेर समूहका २० जना धावक सहभागी भएको उर्लाबारी रनर समूहका संयोजक पभू दिलुङ्छा राईले जानकारी दिए। उनकाअनुसार उर्लाबारीबाट भेट्रानतर्फ ५ जना, यू–१२ तर्फ २ जना, यू–१६ तर्फ २ जना तथा बाँकी ११ जना खुला विधामा प्रतिस्पर्धा गरेका थिए। सहभागीमध्ये ६ जना महिला र १४ जना पुरुष रहेका थिए।
उर्लाबारी रनर समूहले देशका विभिन्न स्थानमा आयोजना हुने दौड प्रतियोगितामा उर्लाबारीका धावकहरूको सहभागिता गराउँदै आएको छ।
संयोजक राईकाअनुसार सो समूहले छिमेकी मुलुक भारतको मिरिक रन र सिक्किम रनमा समेत नियमित सहभागिता जनाउँदै आएको छ।
तेस्रो संस्करणको तरहरा रनको यू–१६ विधामा उर्लाबारीकी मन्दिरा महतरा प्रथम





