मोरङ : मोरङको रंगेली नगरपालिकामा पहिलोपटक आमाको नामबाट नेपाली नागरिकता वितरण सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा इलाका प्रशासन कार्यालय रंगेलीमार्फत सेवा सुरु गरिएको हो।
यसअघि आमाको नामबाट नागरिकता लिन सेवाग्राहीहरूलाई विराटनगर पुग्नुपर्ने बाध्यता थियो। दूरी, खर्च र समयका कारण धेरै नागरिकहरू अधिकारबाट वञ्चित हुने अवस्था रहेको थियो।
उक्त समस्यालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल स्वयं रंगेली पुगेर सेवा प्रवाह सुरु गरेका हुन्। उनले नागरिकलाई आधारभूत अधिकार दिलाउन प्रशासन घरदैलोमै पुग्नुपर्ने नीति अनुसार काम भइरहेको बताए।
रंगेली नगरपालिका–६ का कपिल कर्मकार र विदुर कर्मकार आमाको नामबाट नागरिकता प्राप्त गर्ने पहिलो सेवाग्राही बनेका छन्।
बुवाको निधन भइसकेपछि उनीहरूले आमा फुलोदेवी मिस्त्रीको नामबाट नागरिकता पाएका हुन्। नागरिकता प्राप्त गरेपछि उनीहरूले प्रशासनप्रति कृतज्ञता व्यक्त गरेका छन्।
नागरिकता हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइराला, इलाका प्रशासन कार्यालय रंगेलीका प्रमुख रोशन अधिकारीलगायतको उपस्थिति रहेको थियो।
इलाका प्रशासन कार्यालयका अनुसार रंगेली क्षेत्रबाट आमाको नाममा नागरिकता लिन आवेदन दिएका अन्य २१ जनाको पनि स्वीकृति भइसकेको छ र उनीहरूलाई चाँडै नागरिकता वितरण गरिने तयारी भइरहेको छ।





