काठमाण्डौ – आजदेखि चैते दशैँको नवरात्र शुरु हुँदैछ । चैत्र नवरात्रका अवसरमा आज काठमाण्डौको हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदैछ ।

चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ बजेर ५१ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिनुभयो । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि उहाँले बताउनुभयो ।

यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ । चैते दशैँको मुख्य दिन भने यसपालिको आउँदो १२ गते परेको छ ।

शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गरेका छन् । असार शुक्ल पक्ष, अशोज शुक्ल पक्ष, पुस शुक्ल पक्ष र चैत शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिन्छ । नेपाली परम्परामा असार र पुस शुक्ल पक्षको नवरात्रलाई लुप्त नवरात्र पनि भनिन्छ ।

तपाईको प्रतिक्रिया