राममणि दाहाल

मकवानपुर, चैत ३ गते । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा बसोवास गर्दै आएका न्यून आय भएकालाई लक्षित गरी लागत प्रभावकारी खर्चमा आवास निर्माण गर्न ऋण सहयोग उपलब्ध गराइने भएको छ ।

हेटौँडा उपमहानगरपालिकामा, उपमहानगरपालिका, लुमन्ती नामक संस्था र कामना सेवा विकास बैँकको सहकार्यमा सञ्चालित आवास निर्माण कार्यक्रमबाट आवास निर्माणमा सहयोग गरिने भएको हो ।

न्यून आय भएकालाई लक्षित गरी उपमहानगरभित्र बसोवास गर्दै आएकालाई लागत प्रभावकारी खर्चमा आवास निर्माण तथा मर्मत सुधारका लागि ऋण सहयोग र प्राविधिक सहयोग गर्न लागेको लुमन्तीका आवास निर्माण कार्यक्रमका सामाजिक सहजकर्ता शान्ति बरुवालले जानकारी दिनुभयो ।

लागत प्रभावकारी खर्चमा आवास निर्माण तथा मर्मत सुधार गर्न चाहने उपमहानगरभित्र बसोवास गर्ने न्यून आय भएकालाई बढीमा एक ढलान घरसम्मका लागि ऋण सहयोग गरिने भएको छ ।

कार्यक्रमबाट आवास निर्माण तथा मर्मत सुधारका लागि व्यक्तिले ऋण सहयोग सात लाख रुपियाँसम्म पाउने र सामूहिक आवासको निर्माणमा ऋण सहयोग १५ लाख रुपियाँसम्म प्रदान गर्ने व्यवस्था रहेको छ ।

सामाजिक सहजकर्ता बरुवालले ब्याजदर वार्षिक आठ प्रतिशत हुने र उक्त ब्याज दर सात वर्षसम्मको अवधिमा वृद्धि नहुने भन्दै अग्रिम ऋण भुक्तानी गर्न चाहेमा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने बताउनुभयो।

उहाँका अनुसार घर निर्माण भएपछि ऋण लिएकाले मासिक १० हजार पाँच सय रुपियाँ बराबरको किस्ता बुझाउनु पर्ने हुन्छ भने ऋण लिने क्रममा कुनै पनि सेवा शुल्क लाग्ने छैन ।

उहाँले ऋण लिनका लागि सम्बन्धित टोल विकास संस्था र सम्बन्धित वडा कार्यालयको सिफारिस, सेवाग्राहीको घर निर्माण गर्ने जग्गाको लालपुर्जा, जग्गाको नक्सा र नागरिकताको प्रतिलिपि बुझाउनुका साथै सेवाग्राहीले उपमहानगरपालिका वा वडा कार्यालयमा मालपोत र सम्पत्तिकर तिरेको हुनुपर्ने बताउनुभयो ।

उपमहानगरपालिका क्षेत्रमा बसोवास गर्ने न्यून आय भएकालाई मागका आधारमा आवास निर्माण तथा मर्मत सुधारका लागि ऋण सहयोग र प्राविधिक सहयोग उपलब्ध गराइने भएको छ ।

-गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया