काठमाडौं– ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास डिपोले बजारमा नपठाई लुकाएर राखेको ६ हजार ३ सय ७७ वटा ग्यास भरिएका सिलिण्डर फेला परेको छ ।

बजारमा ग्यास अभाव सिर्जना गराई कालोबजारीमा बेच्ने नियतले उक्त डिपोले ठूलो मात्रामा सिलिण्डर भण्डारण गरेको फेला परेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार गरेको अनुगमनका क्रममा ठूलो परिमाणमा सिलिण्डर फेला परेको डिपोलाई कारवाही गरेको छ । विभागले तत्काल ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।

मध्यपूर्वको संकटपछि केही ग्यास व्यवसायीहरुले बजारमा कृत्रिम अभाव गराएको गुनासो आएपछि विभागको टोलीले अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा सोमबार उक्त डिपोमा ६ हजारभन्दा बढी ग्यासका सिलिण्डर फेला परेको हो । विभागका महानिर्देशक रोशन ज्ञवालीले सूचनाका आधारमा श्रीराम ग्यास डिपोमा छापा मार्दा ठूलो परिमाणमा ग्यास फेला परेको जानकारी दिए । उनले डिपोलाई तीन लाख जरिवाना गरेको बताए ।

उपभोक्ताले बजारमा ग्यास अभाव हुँदा सहज रुपमा नपाईरहेको बेला उद्योगको गोदाममा १४.२ किलोका ६ हजार ३७७ ग्यास सिलिण्डर भेटिएपछि उपभोक्ता ऐन बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरिएको हो । अनुगमनका क्रममा महानिर्देशक ज्ञवालीले यो कारबाहीको उद्देश्य केवल सजाय मात्र नभई बजारमा लुकाइएको ग्यास बाहिर ल्याउनु र अरूलाई पनि सचेत गराउनु रहेको स्पष्ट पारे । ‘कसैले पनि स्टक राखेर बजारमा अभाव देखाउनु हुँदैन भन्ने सन्देश दिन यो कारबाही गरिएको हो,’ महानिर्देशक ज्ञवालीले भने, ‘यसबाट उपभोक्ताले ग्यास पाउने अवस्था सिर्जना हुनेछ ।’

पछिल्लो समय बजारमा ग्यास अभाव देखिएपछि नेपाल आयल निगमले ग्यास उद्योगलाई आधा अर्थात् ७.१ किलो बिक्री गर्ने निर्देशन दिएको छ । उद्योगमा मौज्दात रहेको ग्यास सिलिण्डर आयल निगमको समन्वय र रोहवरमा बिक्रीको व्यवस्था मिलाउन निर्देशन दिएको महानिर्देशक ज्ञवालीले जानकारी दिए । ग्यास बिक्रीका लागि सोमबार नै निगमलाई पत्राचार गरिएको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

बजारमा अभाव भइरहेको समयमा अन्य ग्यास उद्योगमा पनि निगरानी बढाइएको र कसैले पनि कालोबजारी वा होल्डिङ गरेमा कडा कानुनी कारबाही गरिने विभागले स्पष्ट पारेको छ । ग्यासको माग उच्च रहेको परिस्थितीमा आपूर्तिमा असर गर्ने गरी कृत्रिम अभाव सिर्जना गर्ने काम नगरी वितरण प्रणाली सहज गर्न सबै ग्यास उत्पादक (बोटलिङ) उद्योग र वितरकलाई विभागले अनुरोध गरेको छ ।

-कारोबार डेली को सहयोगमा

तपाईको प्रतिक्रिया