काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय एकता महाधिवेशन विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
सम्मेलनले नेपालको विकासमा प्रवासी नेपालीको लगानी, श्रमिक अधिकार र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै १२ बुँदे घोषणापत्र जारी गरेको हो। गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानूनी सुधार गर्न संघ आग्रह गर्दछ।
नेपालमा रोजगारी सिर्जना, उद्यमशीलता तथा भौतिक पूर्वाधार विकास र नेपालीको जीवनस्तर उकास्न सहयोग पुग्ने गरी समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी प्रोत्साहित गर्न संघ प्रतिबद्ध छ। गैरआवासीय नेपालीको सहभागिता वृद्धि गर्नका लागि चल तथा अचल सम्पत्तिको कारोबार, धितोपत्रमार्फत लगानी, लगानी तथा लगानी राफसाफका लागि बैंक खाता खोल्न तथा लगानी फिर्ता लैजान गैरआवासीय नेपालीहरूको लगानी व्यवस्थापन गर्न छुट्टै निकाय खडा गर्ने र यी सबै कार्य सहज बनाउन एनआरएन ऐन, नागरिकता ऐन, आयकर ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, मालपोत ऐन तथा नियमावली संशोधन गर्न सरकारसँग आग्रह गरेको छ।
सरकार र गैरआवासीय नेपालीहरूको पहलमा स्थापना भएको एनआरएनए नेपाल डेभलपमेन्ट फन्डबाट जारी हुने धितोपत्रको सीमा ८५% अविलम्ब कायम गर्न, मध्यपूर्वको पछिल्लो अवस्थाप्रति ध्यान दिन, मध्यपूर्वका विभिन्न भागमा रहेका नेपाली संकटमा परेको अवस्थामा राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्याउन एनआरएनएले सरकार र अन्तर्राष्ट्रिय निकायसँग सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
संविधानप्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुने गरी गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुनी र नीतिगत सुधारका लागि नेपाल सरकारसँग सहकार्य र पहल गर्ने प्रतिबद्धता संघको छ। विश्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तर्राष्ट्रिय संस्था र नेपाल सरकारसँग सहकार्य गर्दै नीतिगत सुधार र सहयोगको पहल गरिने घोषणापत्रमा उल्लेख छ।
घोषणापत्रमा प्रवासमा जन्मिएका दोस्रो पुस्ताका युवालाई नेपाली भाषा, संस्कृति र इतिहाससँग जोड्न शिक्षा, सांस्कृतिक कार्यक्रम तथा डिजिटल माध्यममार्फत पहल गरिनेछ। विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा सहकार्य गर्दै ज्ञान, प्रविधि र नवप्रवर्तनको आदानप्रदानमार्फत नेपालको विकासमा योगदान गर्ने जलविद्युत, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगमा गैरआवासीय नेपाली लगानीलाई प्रोत्साहन गर्दै नेपाल सरकारसँग सहकार्य गरी लगानीमैत्री वातावरण निर्माणका लागि पहल जनाइएको छ।
यसैगरी विश्वभर रहेका नेपालीको एकता, ज्ञान, अनुभव र पुँजीलाई नेपालसँग जोड्दै “हाम्रो एकता, समृद्धिको आधार” नारालाई व्यवहारमा उतार्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपालको निर्माणमा योगदान गर्ने सामूहिक संकल्प पनि गरिएको छ।
सम्मेलनमा चार हजार २ सय ८६ प्रतिनिधि सहभागी थिए। यीमध्ये चार सय बढी भौतिक रुपमा काठमाडौँमा आएका थिए भने अन्य अनलाइनमार्फत उपस्थित थिए।
हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्षमा उम्मेदवारी दिएका दुई उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएकाले शर्मा निर्विरोध चयन भएका हुन्।
अध्यक्षका लागि शर्मासँगै रोविन शेरचन र रविन वज्राचार्यले उम्मेदवारी दिएका थिए। उनीहरू दुवै जनाले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा निर्विरोध भएका र एनआरएनएको कार्यसमितिका सबै पदमा सहमति जुटेको निर्वाचन आयुक्त टिबी कार्कीले बताए।




