राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिअनुसार, आगामी चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा यो कार्यक्रम सञ्चालन गरिनेछ। प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टीको नीतिबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सबै सांसदहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

उक्त अभिमुखीकरण कार्यक्रम पूर्ण रूपमा आवासीय प्रकृतिको हुने र सांसदहरूको आवास तथा खानाको व्यवस्था पार्टीले नै गर्ने जनाइएको छ।

कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन पार्टीले कडा नियमहरू समेत लागू गरेको छ। कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग गर्न निषेध गरिएको छ भने कार्यक्रम स्थलमा परिवारका सदस्य, साथीभाइ वा अन्य पाहुनाहरूलाई भेटघाट गर्न र तस्बिर खिच्न समेत रोक लगाइएको छ। साथै, सांसदहरूलाई ‘बिजनेस क्याजुअल’ पोसाकमा उपस्थित हुन भनिएको छ।

विज्ञप्तिमा सवारी साधन व्यवस्थापनका सम्बन्धमा पनि स्पष्ट पारिएको छ। होटल परिसरमा सवारी पार्किङको सुविधा उपलब्ध भए तापनि चालक तथा अन्य सहयोगीहरूको भोजन र आवासको व्यवस्था सम्बन्धित सांसद स्वयंले गर्नुपर्नेछ। चैत ३ गते बिहान १० बजेदेखि सुरु हुने यस कार्यक्रमले पार्टीका जनप्रतिनिधिहरूलाई आगामी संसदीय कार्यकालका लागि तयार पार्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया