काठमाडौं। संघीय गणतन्त्रसहितको नेपालकाे संविधान २०७२ दिवस आज विविधि कार्यक्रम आयोजना गरी मनाइँदै छ। २०७२ असोज असोज ३ मा नेपालको नयाँ संविधान जारी गरिएको थियो। सोही संविधानमार्फत हाल नेपाल संघीय गणतान्त्रिक व्यवस्थामा छ।
गणतन्त्रपछि देशले समृद्धिको बाटो रोजे पनि राजनीतिक अस्थिरता, प्राकृतिक विपदलगायत कारण अहिले पनि मुलुकमा आर्थिक, सामाजिक क्षेत्र अझै पनि पछि छ। आज गणतन्त्रका लागि ज्यान आहुति गर्ने वीर सहिदको सम्मान गर्दै सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरिँदै छ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा मुलुकमा दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्ष पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा शुभकामना दिँदै उनले त्यस्तो कामना गरेका हुन्।
संविधानले बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई समान संरक्षण प्रदान गरेको बताउँदै उहाँले यस्तो अवस्थामा नेपालीबीच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने विश्वाससमेत व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, ‘नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै लोकतन्त्रमा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ। संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ।’
रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको अपूरणीय क्षतिले सिङ्गो मुलुक गहिरो पीडामा रहेको उल्लेख गर्दै उनले यस कठिन घडीमा बाढी प्रभावित व्यक्तिको राहत, उद्धार र पुनःस्थापनाका लागि एकताबद्ध भई अगाडि बढ्न सबैलाई आह्वानसमेत गरेका छन्।
यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना दिँदै संविधानको मूल मर्मअनुसार समावेशिता, समानता, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व र साझा भविष्यप्रति सबैले प्रतिबद्धता जनाउनुपर्ने बताएका छन्।
उनले नेपालको संविधान नेपाली जनताको दीर्घ सङ्घर्ष, विविधता र समावेशिताको ऐतिहासिक उपलब्धि रहेको समेत बताउनुभएको छ । सन्देशमा भनिएको छ, ‘पछिल्लो समय संविधानको चौतारोभित्रै रहेर सामाजिक आन्दोलनहरूको सम्बोधन तथा सङ्क्रमणकालीन व्यवस्थाको गठनले संविधानको लचकता, समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुनः पुष्टि गरेको छ।’
यसैगरी विभिन्न राजनीतिक दलका शीर्ष नेताले पनि संविधान दिवसको शुभकामना व्यक्त गरेका छन्।





