काठमाडौं, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि एकजुट भई विकास र समृद्धितर्फ लम्किनु नै नेपालको राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताएका छन्।

संविधान दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वअध्यक्ष रेग्मीले लामो सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरूप संविधानसभाबाट २०७२ सालमा जनता आफैँले संविधान निर्माण गरेको स्मरण गरे। उनले परिवर्तनशील समयको मागअनुसार संविधानको सम्वद्र्धन र परिमार्जन गर्दै लैजानु उपयुक्त हुने धारणा व्यक्त गरे।

नेपालले भोगिरहेको प्राकृतिक चुनौती र जलवायु परिवर्तनको असरबारे चर्चा गर्दै पूर्वप्रधानन्यायाधीशसमेत रहेका रेग्मीले संविधान दिवसले यस्ता विपद्को सामना गर्न राष्ट्रिय सामर्थ्य र एकता प्रदान गरोस् भन्ने कामना गरे। हालै भोटेकोशीमा आएको बाढी तथा रसुवामा हिमपहिरोका कारण भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले भने, “जलवायु परिवर्तनका कारण उत्पन्न यस्ता विपत्तिसँग जुध्न हाम्रो एक्लो क्षमताले पुग्दैन, त्यसैले नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चबाट जलवायु न्याय र क्षतिपूर्ति अनिवार्य बनेको छ।”

जलवायु न्यायका लागि संयुक्त राष्ट्रसङ्घले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले दीर्घकालीन रूपमा प्राकृतिक विपत्तिको पूर्वतयारी र सामना गर्न नेपालले आफ्नै आन्तरिक क्षमता र प्रविधि पनि बढाउँदै लैजानुपर्ने बताए।

तपाईको प्रतिक्रिया