मनाङ – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन्। दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी भएका हुन्।
मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरेको पौडेलले जानकारी दिए। उनका अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले नौ मत पाए।
सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका आज मतगणना स्थलमा ल्याइएपछि मतगणना थालिएको थियो। मनाङमा ५४ दशमलव ८० प्रतिशत मत खसेको थियो।
यहाँ कुल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए। मनाङमा कुल मतदाता सात हजार छन्। अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए।





