विराटनगर — विराटनगर महानगरपालिका–७ डाँफे चोकमा मंगलबार बिहान शंकास्पद वस्तु भेटिएपछि केहीबेर त्रास फैलिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ अगाडिको चोकमा कालो प्लास्टिकले पोको पारेर राखिएको वस्तु बमजस्तो देखिएपछि स्थानीयवासी र सर्वसाधारणमा भय उत्पन्न भएको थियो।

वडा प्रहरी कार्यालय विराटनगरको टोली नियमित गस्तीका क्रममा बिहान करिब २ बजे उक्त वस्तु फेला पारेको हो। त्यसलगत्तै डीएसपी अनमोल खड्का नेतृत्वको टोली घटनास्थल पुगेर क्षेत्रलाई नियन्त्रणमा लिँदै मानिस तथा सवारीसाधनको आवतजावत रोकिएको थियो।

प्रहरीले आसपासका सिसी क्यामेरा फुटेज जाँच गर्दा स्कुटरमा आएका एक व्यक्तिले उक्त वस्तु राखेर गएको देखिएको जनाएको छ। घटना शंकास्पद देखिएपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको थियो।

नेपाली सेना अन्तर्गत सूर्यदल गण थलाहाबाट पुगेको सेनाको टोलीले शंकास्पद वस्तु निष्क्रिय पारेको थियो। जाँचका क्रममा उक्त वस्तु बम नभई पूजाआजा गरी मन्साइएको माटोको सानो हाँडी रहेको पुष्टि भएको कवित कटवाल ले जानकारी दिए।

उनका अनुसार हाँडीभित्र पूजामा प्रयोग गरिएका खरानीलगायत सामग्री फेला परेको थियो। सेनाले बिहान करिब ७ बजेतिर उक्त सामग्री डिस्पोज गरेपछि अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया