विराटनगर : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशमा सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख विनोद घिमिरेले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा समितिले रणनीतिक तयारी पूरा गरेको जानकारी दिए।

उनका अनुसार संवेदनशील तथा अतिसंवेदनशील मतदानस्थलको पहिचान गरी विशेष निगरानी, अतिरिक्त प्रहरी परिचालन र द्रुत प्रतिक्रिया टोली तयारी अवस्थामा राखिएको छ।

प्रदेशभर १२ हजार नेपाल प्रहरी र २३ हजार निर्वाचन प्रहरी परिचालन हुनेछन्। यसैगरी २ हजार ५६१ सशस्त्र प्रहरी तथा सशस्त्रका तर्फबाट ५ हजार ६४९ निर्वाचन प्रहरी खटाइएको सशस्त्र प्रहरी बल कोशी प्रदेश कार्यालयले जनाएको छ।

कोशी प्रदेशमा २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। कुल ३५ लाख ७४ हजार २८६ मतदाता रहेका छन्।

जसमा १७ लाख ४९ हजार ७३ महिला, १८ लाख २८ हजार २१३ पुरुष र अन्य २४ जना मतदाता छन्। प्रदेशभर ४ हजार २७० मतदान केन्द्र र १ हजार ९०७ मतदानस्थल कायम गरिएको छ।

सुरक्षा निकायले निर्वाचन अवधिभर शंकास्पद गतिविधिमाथि निगरानी कडा पारिएको र मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया