काठमाडौँ । उज्यालो नेपाल पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका डा. विजय पन्तले कार्की जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न र नागरिक सरकारलाई जिम्मेवार बनाउन माग गर्दै माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेका छन् ।
विगतको युवा आन्दोलन र विशेषगरी भदौ २३ को ’नरसंहार’ एवं २४ गतेको ’ध्वंस’ का घटनालाई नजिकबाट नियालेका डा. पन्तले सरकारको उदासीनता र आयोगको मौनता विरुद्ध यो कठोर कदम चालेका हुन् ।
आन्दोलनका क्रममा मेडिकल स्वयंसेवी भएर काम गर्नुभएका पन्तले बीबीसीको हालै सार्वजनिक डकुमेन्ट्री र विवरणहरूले घटनाको गाम्भीर्यतामाथि थप प्रश्न उठाएको उठाएका हुन् । दर्जनौँ युवाको बलिदानीमाथि सरोकारवाला पक्ष लामो समयसम्म मौन बस्न नमिल्ने उनको भनाई छ । कसैले युवाको रगतलाई सत्ताको गाडी चढ्ने इन्धनको रूपमा प्रयोग गर्न नहुने उनको दाबी छ ।
पन्तले घटनाको वास्तविकता ’दूधको दूध र पानीको पानी’ छुट्ट्याउने दायित्व बोकेको कार्की आयोगलाई विभिन्न बहानामा निरिह बनाइएको आरोप समेत लगाएका छन् । कार्की आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्नुपर्ने, नागरिक सरकार जनताप्रति पूर्ण जिम्मेवार बन्नुपर्ने, मुलुकमा नागरिक सर्वोच्चता कायम हुनुपर्ने, सरकारले जनतासमक्ष गरेका वाचाहरू पूरा गर्नुपर्ने लगाएतका छन् ।
परिवर्तनलाई संस्थागत गर्न निर्वाचनमा समेत सहभागी भएका डा. पन्तले सचेत नागरिक नै राज्यको वास्तविक प्रतिपक्ष भएको उल्लेख गर्दै माग पूरा नभएसम्म अनसन जारी राख्ने दृढता व्यक्त गरेका छन् । कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिने उद्देश्यले सुरु भएको यो अनसनले पछिल्लो समय राजनीतिक वृत्तमा पुनः तरंग पैदा गरेको छ ।





