इटहरी : इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा बुधवार राति सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
राति २१ः३० बजेतिर विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–००१–००१ च ७५०५ नम्बरको कारले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करपछि कार अनियन्त्रित भई सोही दिशातर्फ गइरहेको प्र १–०२–००३ ह ४८९८ नम्बरको टेम्पोलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट सप्तरी छिन्नमस्ता गाउँपालिका–६ घर भएका ४७ वर्षीय पैदलयात्री गिरिजानन्द साहको मृत्यु भएको हो।
घटनामा इटहरी–२० बस्ने ४४ वर्षीय टेम्पो चालक वसन्त घिसिङ, टेम्पोमा सवार ५९ वर्षीय प्रेमकुमार गुरुङ र इटहरी–१२ बस्ने २२ वर्षीय कार चालक विकी विश्वकर्मा सामान्य घाइते भएका छन्। उनीहरूको उपचार भइरहको प्रहरीको भनाइ छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक सुबास हमालको कमाण्डमा ७ जना तथा प्रहरी चौकी खनारबाट प्रहरी नायब निरीक्षक प्रलाद बोगटीको कमाण्डमा ४ जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
दुवै सवारी साधन प्रहरी चौकी खनारको नियन्त्रणमा रहेका छन्। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय इटहरीबाट करिब २ किलोमिटर दक्षिणमा पर्दछ।
प्रारम्भिक अनुसन्धान अनुसार पैदलयात्रीले हतारमा बाटो काट्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।





