काठमाडौं, १३ फागुन।
मुस्कान पौडेल, युनाइटेड नेपाल डेमोक्रयाटिक पार्टीका केन्द्रीय अध्यक्ष तथा काठमाडौं–४ का प्रतिनिधिसभा उम्मेदवार, ले जेन–जी युवालाई लक्षित गर्दै मत मागेका छन्। उनको चुनाव चिन्ह ‘पुरुष’ रहेको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ।
आफ्नो चुनावी घोषणापत्रमार्फत उनले मतदाता आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा जेन–जी युवाप्रति सम्मान प्रकट गरेका छन्। नेपालमा प्रजातन्त्र स्थापना भएको ३६ वर्ष बितिसक्दा पनि नागरिकले अपेक्षित उपलब्धि प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनले वर्तमान व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
रोजगारी अभाव, असुरक्षा र विदेश पलायन बढ्दो समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले “घरजग्गा बेचेर र ऋण काढेर छोराछोरीलाई विदेश पठाउनुपरेको अवस्था छ, गाउँघर सुनसान बन्दै गएका छन्,” भन्दै प्रश्न गरेका छन्, “के यही हो प्रजातन्त्र?”
उनले राजनीतिक दलहरूको कामप्रति असन्तोष जनाउँदै मतदातालाई पुरानै दल दोहोर्याएर मत नदिन आग्रह गरेका छन्। साथै, परिवर्तनका लागि मतदाता स्वयं पनि जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
पौडेलले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, विदेश पलायन रोक्ने र सुशासन स्थापना गर्ने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्। क्षेत्र नम्बर ४ भित्र सार्वजनिक सम्पत्तिमा भएको अतिक्रमण हटाउने, बागमती र रुद्रमती खोलाका किनारमा ‘ग्रीन बेल्ट’ निर्माण गर्ने तथा सबै टोल र सडकमा सीसीटिभी जडान गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
त्यसैगरी, २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा, सडक–बत्ती–ढल समस्या समाधान, महिला तथा घरेलु हिंसा नियन्त्रण, युवा तथा खेलाडीलाई प्रोत्साहन र क्षेत्रलाई ‘टुरिजम ट्रान्जिट प्लान’का रूपमा विकास गर्ने योजना पनि उनले अघि सारेका छन्। क्षेत्रभित्रका अस्पतालमा उपचार गर्दा बिरामीलाई १५ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइने उनको भनाइ छ।
काठमाडौं–४ अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नं. १, ७, ८ र ३० तथा बुढानिलकण्ठ नगरपालिकाका वडा नं. १, २, ८, ९, १०, ११, १२ र १३ पर्छन्। काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन्।





