विराटनगर, फागुन १० — विराटनगर–१३ स्थित डीएभी स्कुलले आफ्नो ३१औँ वार्षिकोत्सव आइतबार भव्य रूपमा मनाएको छ। विद्यालय परिसरमा आयोजित विशेष समारोहबीच वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन विद्यालयका अध्यक्ष सुरेश शर्माले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष शर्माले विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै आधुनिक प्रविधिसँग जोडेर सीप र संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको बताए। उनले वर्तमान परिवेशमा शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउनु अपरिहार्य भएको उल्लेख गरे।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले शिक्षालाई सीपसँग आबद्ध गर्दै अघि बढाउनुपर्नेमा जोड दिए। उनले शिक्षालाई उत्पादनमुखी र जीवन उपयोगी बनाउन प्याब्सन सधैं प्रतिबद्ध रहेको बताउँदै विद्यार्थीले आर्जन गर्ने शिक्षामा संस्कार झल्कनुका साथै त्यसले जीवनका चुनौती सामना गर्न सक्षम बनाउनुपर्ने धारणा व्यक्त गरे।

यसैगरी, विद्यालयका प्रिन्सिपल रमेश मिश्राले गुणस्तरीय शिक्षाका लागि विद्यालय निरन्तर कटिबद्ध रहेको बताए। उनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई लक्ष्य गरी शैक्षिक कार्यक्रमसँगै विभिन्न सीपमूलक गतिविधिहरूलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरमा दुई दर्जनभन्दा बढी प्रदर्शनी स्टलहरू राखिएका थिए। विद्यार्थीहरूले तयार पारेका फेस पेन्टिङ, चित्रकला तथा विविध खाद्य परिकारका स्टलहरू कार्यक्रमका आकर्षण बनेका थिए। साथै, विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक नृत्य तथा गायनले समारोहलाई थप रौनक प्रदान गरेको थियो।

तपाईको प्रतिक्रिया