काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको नेतृत्वमा सरकार बनेपछि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको महलमा डोजर चल्ने बताएका छन्।

कर्णालीमा बिहीबार आयोजित वाचापत्र सार्वजनिक कार्यक्रमा उनले रास्वपा सरकार आएमा गरिब बस्तीको उठिवास लगाउने र डोजर चलाउने भन्दै जनतालाई तर्साउने प्रयास भइरहेको आरोप लगाए। उनले डोजर चलेमा सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्ने भन्दै गरिबको बस्तीले चिन्ता गर्न नपर्ने बताए।

उनले रास्वपाले कसैलाई बेघरबार बनाउने काम नगर्ने दाबी गरे। विस्थापित नगरी व्यवस्थापन गर्ने नीति लिने उनको भनाइ छ। भूमिहीन समस्याको समाधान गर्न शक्तिशाली र स्वतन्त्र आयोग गठन गर्ने उनले बताए।

उनका अनुसार आयोगमा पार्टीका कारिन्दा नभई स्वतन्त्र मानिसहरू हुनेछन्। आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने उनले बताए। कानूनले अन्याय गरेको महसुस भएमा संसद्‌बाट संशोधन गरेर भए पनि अधिकार दिलाउने उनले प्रतिबद्धता जनाए।

उनले रास्वपा प्रश्नहरूको सामना गर्न डराएको आरोपको खण्डन गर्दै जनताका प्रश्नको जवाफ घरदैलोमै दिएको जिकिर गरे। उनले प्रश्न सोध्ने ठेक्का पनि जनताले नै लिने भएकोले कसैले लिनु नपर्ने बताए।

उनका अनुसार जनताले घरघरमा प्रश्न सोधेका छन्, रास्वपाका उम्मेदवारले उत्तर दिएका छन्। उनले अब केवल जवाफ दिने नभई समाधान दिने समय आएको बताए।

उनले पाँच वर्षे स्थायी सरकारमार्फत विधिको शासन, कानूनी राज्य र सुशासन स्थापना गर्ने प्रतिबद्धता उनले जनाए। रास्वपा विधि र लोकतान्त्रिक मूल्य–मान्यतामा अडिग रहने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया