काठमाडौं। पोखरा घर भएकी चर्चित मोटोभ्लगर सुरक्षा केसीको सामग्रीलाई अन्तर्राष्ट्रिय स्तरको सामाजिक सञ्जाल इन्स्टाग्रामले आफ्नो अफिसियल अकाउन्टमार्फत सेयर गरेको छ।
इन्स्टाग्रामले बिहीबार बिहान सुरक्षा केसीको रिल्स भिडियो पोस्ट गरेको हो। रिल्ससँगै इन्स्टाग्रामले उनलाई फलो गरेको पनि देखिएको छ। सम्भवतः यो नेपाली कन्टेन्ट क्रिएटरको सामग्रीलाई विश्वव्यापी प्लेटफर्मले सेयर गरेको पहिलो घटना हो।
सुरक्षाका अनुसार, केही महिना अघि इन्स्टाग्रामले उनलाई सन्देश पठाएको थियो र इमेलमार्फत अनुमति लिएर रिल्स सेयर गरिएको हो। ‘उक्त रिल्स सेयर गर्न अनुमति मागेपछि मैले दिएँ,’ उनले भनिन्। उक्त रिल्स इन्स्टाग्रामले ‘इन द मोमेन्ट’ क्याप्सन लेख्दै अफिसियल अकाउन्टमा पोस्ट गरेको छ।
सुरक्षाले भनिन्, ‘इन्स्टाग्रामजस्तो विश्वव्यापी प्लेटफर्मले मेरो काम मन पराएर सम्पर्क गर्नु र अनुमति लिएर रिल्स सेयर गर्नु मेरो लागि अत्यन्त खुसीको कुरा हो। यसले नेपाली कन्टेन्ट पनि अन्तर्राष्ट्रिय स्तरमा पुग्न सक्छ भन्ने आत्मविश्वास दिएको छ।’
सुरक्षा केसी नेपालका विभिन्न स्थानमा मोटरसाइकल यात्रा गर्दै आफ्ना अनुभव र साहसिक क्षणहरू भिडिओमार्फत सार्वजनिक गर्दै आएकी छन्। उनी इन्स्टाग्राममा ६ लाख ३ हजार, टिकटकमा ४ लाख ५४ हजार फलोअर्स, र युट्युबमा ९ लाख ४२ हजार सब्सक्राइबर्स कमाइसकेकी छन्।





