विराटनगर । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास निर्देशनालय मातहतको पूर्वाधार विकास कार्यालय, मोरङले आफ्ना कर्मचारी सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।
कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार मिति २०८२ साल मंसिर ३ गते पूर्वाधार विकास कार्यालय, सलहिमा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको उल्लेख गरिएको छ। यस घटनाले कार्यालयका सम्पूर्ण कर्मचारीलाई स्तब्ध र मर्माहत बनाएको विज्ञप्तिमा जनाइएको छ।
कार्यालयले स्वर्गीय राष्ट्रसेवक कर्मचारी यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, राष्ट्रसेवक कर्मचारीमाथि भएको यस जघन्य अपराधको घोर भर्त्सना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनबमोजिम कडा कारबाही गर्न माग गरिएको छ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सबै पक्षसँग आवश्यक कदम चाल्न कार्यालयले आग्रह गरेको छ।
कार्यालय प्रमुख खरानन्द ईसरद्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्याप्रति पूर्वाधार विकास कार्यालय मोरङद्वारा प्रेस विज्ञप्ति जारी





