विराटनगर — सीमा नाकाबाट हुने अवैध ओसारपोसारमाथि निगरानी बढाउँदै आएको सशस्त्र प्रहरी बल नेपाल ले रानी क्षेत्रबाट करिब तीन लाख रुपैयाँ बराबरको बोइलर कुखुरा बरामद गरेको छ। बरामद गरिएको कुखुरा खाडल खनेर नष्ट गरिएको छ भने ओसारपोसारमा प्रयोग भएको सवारीसाधन भन्सार दाखिला गरिएको छ।
शनिबार साँझ ६:४० बजे सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले रानी नाका क्षेत्रमा शंकास्पद रूपमा आउँदै गरेको प्र १–०२–००२ च ३६३७ नम्बरको इसुजु पिकअप रोकेर जाँच गरेको थियो। सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खड्काको कमाण्डमा रहेको टोलीले गाडीभित्र अवैध रूपमा ल्याइँदै गरेको करिब ३०० गोटा अर्थात् झन्डै १ हजार केजी बोइलर कुखुरा फेला पारेको जनाएको छ।
बरामद कुखुराको बजार मूल्य करिब तीन लाख रुपैयाँ आँकलन गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा मोरङको सुन्दरहरैँचा–११ राजाटोलका ३८ वर्षीय संजिव श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ। अवैध ओसारपोसारमा प्रयोग भएको गाडी भन्सार दाखिला गरिएको छ। भन्सार कार्यालय विराटनगर ले उक्त सवारीसाधनको मूल्य करिब छ लाख रुपैयाँ निर्धारण गरेको जनाएको छ। सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रणका लागि गस्ती तथा चेकजाँच थप कडा पारिएको सशस्त्रले जनाएको छ।





