बलिउड नगरी मुम्बईबाट अभिनय करिअर सुरु गरेका अभिनेता सुनील थापाको निधनप्रति दुःख व्यक्त गर्दै बलिउडका दिग्गज कलाकारले गहिरो दुख व्यक्त गरेका छन्।

पूर्व मिस वर्ल्ड एवं हलिउड तथा बलिउड अभिनेत्री प्रियंका चोपडाले थापाको निधनप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि अर्पण गरेका छन्। त्यस्तै, अक्षयकुमार, अमिर खानलगायत सेलिब्रिटीहरूले पनि उनको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

उनले आफ्नो फेसबुक पेजमा लेखेको स्टाटसमा थापासँग भारतीय बक्सर मेरी कोमको जीवनीमा आधारित फिल्म ‘मेरी कोम’को सुटिङका समयमा बिताएका क्षणको सम्झना गर्दै कठिन समयमा पाएको साथलाई स्मरण गरेकी हुन्। फिल्ममा थापाले चोपडाको गुरुको भूमिका निर्वाह गरेका थिए। सञ्जयलीला भन्सालीको निर्माण रहेको उक्त फिल्मलाई उमंग कुमारले निर्देशन गरेका थिए।

प्रियंकाले लेखेकी छन्, ‘सर तपाईं सधैं मेरो कोच रहनुहुनेछ। मैले बुबालाई गुमाएको बेला तपाईंले मलाई सम्हाल्नुभयो। तपाईंले नजानिँदो रूपमा पनि धेरै कठिन दिनहरूमा माया र साथ दिनुभयो।’

उनले थप लेखेकी छन्, ‘तपाईंको न्यानो अँगालो र हाँसो सधैं मेरो सम्झनामा रहनेछ। हामीले तपाईंलाई निकै चाँडै गुमायौं, तर तपाईंलाई कहिल्यै बिर्सिने छैनौं। म टुटेको समयमा तपाईंले देखाउनुभएको माया र साथका लागि धन्यवाद। तपाईंको आत्माले शान्ति पाओस्।’

अत्यन्तै कम उमेरमै संसारबाट विदा भएका थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रियंकाले उनको परिवार र आफन्तजनप्रति पनि गहिरो समवेदना प्रकट गरेकी छन्। ‘टुटेको बेला देखाउनुभएको तपाईंको दयालुता र साथका लागि हृदयदेखि धन्यवाद,’ उनले भनेकी छन् ।

‘साहेब बहादुर’ बाट उनले बलिउड डेब्यु गरेका थिए । ‘एक दुजे के लिए’ ‘मानव हत्या’, ‘आजकी आवाज,’ ‘अलबेला,’ ‘नसिबवाला,’ ‘मनु द ग्रेट’ लगायत सिनेमामा काम गरेका थापाले पछिल्लो समय ‘द फैमिली मैन-३’ सिरीज खेलेका थिए।

तपाईको प्रतिक्रिया