धनकुटा ।
पूर्वी नेपालको रमणीय पर्यटकीय क्षेत्र धनकुटाको नाम्जेमा रिडी ग्रुप लिमिटेड ले सामूहिक लगानीको मोडलमा ‘रिडी नाम्जे इको रिसोर्ट’ सञ्चालनमा ल्याउने तयारी तीव्र पारेको छ। कोशी प्रदेश रिडी नाम्जे इको रिसोर्ट लिमिटेडकी अध्यक्ष शारदा मगर का अनुसार यो परियोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
अध्यक्ष मगरले स्थानीय समुदायसँग सहकार्य गर्दै दीगो पर्यटन विकास गर्नु संस्थाको प्रमुख लक्ष्य रहेको बताउँदै भन्नुभयो,
“स्थानीय समुदायसँग सहकार्य गर्दै दीगो पर्यटन विकास गर्नु हाम्रो प्रमुख लक्ष्य हो।”
अध्यक्ष मगरका अनुसार हालसम्म यस परियोजनामा ४५ करोड रुपैयाँ बराबरको सामूहिक लगानी जुटिसकेको छ। रिसोर्ट निर्माणका लागि १० रोपनी ५ आना क्षेत्रफलको जग्गा प्रयोग गरिएको छ। परियोजनाअन्तर्गत क्यासिनोसहितको तारे (स्टार) होटल रिसोर्ट निर्माण भइरहेको छ, जसलाई कोशी प्रदेशकै महत्वपूर्ण पर्यटन परियोजनाका रूपमा हेरिएको छ।
यस्तै, रिडी ग्रुप लिमिटेडका अध्यक्ष मानबहादुर बुढा मगर ले समूहले पर्यटन, सेवा तथा उत्पादन क्षेत्रलाई केन्द्रमा राख्दै सामूहिक लगानीको अवधारणालाई सफलतापूर्वक कार्यान्वयन गर्दै आएको बताउनुभयो। उहाँका अनुसार नाम्जे इको रिसोर्टमा गरिएको लगानीले स्थानीय साना व्यवसायलाई प्रोत्साहन गर्ने र समग्र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
हाल रिडी ग्रुपका विभिन्न परियोजनाहरूमा लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ। व्यवसाय विश्लेषकहरूका अनुसार समूहले सञ्चालनमा ल्याएका परियोजनाहरूले भविष्यमा लगानीकर्तालाई दीगो प्रतिफल दिनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत लाभ पुर्याउने सम्भावना देखाएका छन्।
नेपालमा सामूहिक लगानी र साझा आर्थिक भागीदारीको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यसहित अघि बढेको रिडी ग्रुप लिमिटेडको यो पहललाई नेपाली पर्यटन तथा उद्यमशीलता क्षेत्रमा सकारात्मक संकेतका रूपमा लिइएको छ।
विश्लेषकहरूका अनुसार व्यक्तिगत पुँजीभन्दा सामूहिक लगानीमार्फत दीगो आर्थिक विकास सम्भव हुन्छ भन्ने स्पष्ट सन्देश यस परियोजनाले दिएको छ। स्थानीय स्रोतसाधनको उपयोग, समुदायको सक्रिय सहभागिता र आधुनिक व्यवस्थापन प्रणालीलाई एकै ठाउँमा जोडेर अघि बढ्नु रिडी ग्रुपको प्रमुख विशेषता रहेको उनीहरूको भनाइ छ।
प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र वातावरणमैत्री संरचनालाई प्राथमिकतामा राखेर निर्माणाधीन नाम्जे इको रिसोर्ट सञ्चालनमा आएपछि स्थानीय युवाहरूका लागि रोजगारीका अवसर सिर्जना हुने र नाम्जे क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
“रिडी ग्रुपजस्ता संस्थाहरूले सामूहिक लगानी, पारदर्शिता र स्थानीय सहभागितालाई प्राथमिकता दिँदै अघि बढेमा नेपालको आर्थिक विकासले नयाँ मोड लिन सक्छ,” विश्लेषकहरूको निष्कर्ष छ।
नाम्जे इको रिसोर्ट सञ्चालनसँगै पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र साझा आर्थिक समृद्धितर्फ रिडी ग्रुपको यात्रा अझ सशक्त बन्दै गएको देखिन्छ।
धनकुटाको नाम्जेमा ‘रिडी नाम्जे इको रिसोर्ट’ निर्माणाधीन ४५ करोडको सामूहिक लगानी, ग्रामीण पर्यटन र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा
- भोजराज घिमिरे





