काठमाडौं। पाँचथर पावर कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म करिब २४ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ।
कम्पनीले गत पुससम्म विद्युत् बिक्रीमार्फत २३ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। २०८० असार बाढीले आयोजनालाई क्षति पुर्याएको तथा २०८१ असोज १२ पुनः बाढी आई आयोजनामा सिभिल संरचनासहित पावर हाउसलगायत इलेक्ट्रो मेकानिकर इक्युपमेन्टसमेत क्षति भएका कारण गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत कुनै आम्दानी गर्न सकेको थिएन। सोको मर्मत कार्य सम्पन्न गरी २०८१ चैत १६ देखि पुनः विद्युत उत्पादन भइसकेको छ।
विद्युत बिक्री आम्दानी भएसँगै कम्पनी नाफामा पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९ करोड ४ लाख रुपैयाँ नाफामा पुगेको छ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको कुल नाफा २२ करोड ७६ लाख रुपैयाँ रहेको छ भने वित्तीय खर्च ८ करोड ३ लाख रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ २० पैसा रहेको छ। त्यस्तै, मूल्य आम्दानी अनुपात १८.४८ गुणा रहेको छ।
९६ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ७६ लाख ६४ हजार रुपैयाँ ऋणात्मक छ।





