विराटनगर / मोरङको बिराटनगर–११ रामपुरमा ८ वर्षीया बालिकालाई घरभित्र थुनेर राखिएको आरोपमा स्थानीय पसल सञ्चालकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, पसलबाट चोरी गरेको आशङ्कामा स्थानीय पसल सञ्चालक रिना मेहताले बालिकालाई आफ्नै घरभित्र बन्धक बनाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएर बालिकाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता हरिनन्द चौधरीका अनुसार, घटनालाई गम्भीर रूपमा लिँदै बालबालिकासम्बन्धी कसुर अन्तर्गत रिना मेहताविरुद्ध मुद्दा दर्ता गरिएको छ। हाल घटनासँग सम्बन्धित सबै पक्षको बयान संकलन तथा थप प्रमाण जुटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बालअधिकारका दृष्टिले संवेदनशील मानिने यस घटनाले स्थानीय स्तरमा चासो बढाएको छ। प्रहरीले अनुसन्धान पूरा भएपछि आवश्यक कानुनी कारबाही अघि बढाइने स्पष्ट पारेको छ।




