विराटनगर / विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलले जितेको छ ।
१८ वटा विद्यालयलाई पछि पार्दै विकेभिएमले उपाधिसँगै नगद १५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेतामा सीमित भएको एभरेष्ट स्कुलले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । इटहरीको जनता मावि तेस्रो भएको छ ।
विजेता विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रायोजक काबरा ग्रुपका निर्देशक नवलकिशोर काबरा, क्वीज मास्टर सन्देशदास श्रेष्ठ, आयोजक संस्थाकी अध्यक्ष आयुषा खतिवडालगायतले शिल्ड, नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
विगत ३० वर्षदेखि एउटै आयोजक र प्रायोजकमार्फत अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा मोरङ र सुनसरीका १८ वटा विद्यालयको सहभागिता रहेको जुनियर जेसीजका महासचिव सञ्जु योगीले जानकारी दिए । समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिता शिक्षामा निरन्तरता, अनुशासन र प्रतिबद्धताको सशक्त उदाहरण बनेको बताएका छन् । उनले तीन दशकदेखि एउटै आयोजक र प्रायोजकको निरन्तरतामा कार्यक्रम सञ्चालन हुनु आफैँमा प्रशंसनीय रहेको उल्लेख गरे ।
मेयर कोइरालाका अनुसार हाजिरीजवाफ प्रतियोगिता केवल प्रतिस्पर्धात्मक कार्यक्रम मात्र नभई विद्यार्थीहरूको बौद्धिक विकास, संस्कार र भविष्य निर्माणको आधार पनि हो । ‘आजको समयमा धेरै कार्यक्रम सुरु त हुन्छन्, तर निरन्तरता पाउन सक्दैनन्,’ उनले भने, ‘तर यो प्रतियोगिता वर्षौंदेखि विद्यार्थीहरूमा ज्ञान, तर्कशक्ति र आत्मविश्वास विकास गर्ने माध्यम बन्दै आएको छ ।’
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कोशी प्रदेशका १८ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । सामान्य ज्ञान, विज्ञान, गणित, साहित्य तथा समसामयिक विषय समेटिएका प्रश्नमार्फत विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा बाहिर सोच्न र विश्लेषण गर्न प्रेरित गरिएको मेयर कोइरालाको भनाइ छ ।
प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई विजेता भन्दै उनले हार–जितभन्दा पनि यहाँबाट प्राप्त अनुभव, आत्मविश्वास र जिज्ञासा नै सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गरे । विशेषगरी फाइनल चरणसम्म पुग्न सफल विद्यालयहरूलाई उनले बधाई दिएका छन् ।
समारोहमा बोल्दै मेयर कोइरालाले शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम नभई चरित्र निर्माण, नेतृत्व विकास र जिम्मेवार नागरिक तयार गर्ने आधार भएको बताए । यस्ता ज्ञानमूलक र सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरूमा प्रश्न सोध्ने बानी र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उनको भनाइ छ ।
विराटनगर महानगरपालिका शिक्षाको गुणस्तर सुधार र विद्यार्थीमैत्री वातावरण निर्माणप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा अझै प्रभावकारी र व्यापक बनाउँदै लैजान सहकार्य गर्न महानगरपालिका तयार रहेको बताए ।
कार्यक्रममा विराटनगर जेसीजका बोर्ड अफ ट्रष्टी टीकाराज ढकाल, विराटनगर जेसीजका अध्यक्ष कविराज दाहाल, पूर्वअध्यक्ष देवेश प्रधान, जुनियर जेसीज क्षेत्र (क)का संयोजक गौरव कर्णलगायतको उपस्थिति रहेको थियो ।




