विराटनगर माघ २। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। विराटनगरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन मुख्य निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले गर्नुभयो ।
यससँगै मोरङका सबै ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालय मोरङका प्रमुख चोलाराज दंगालका अनुसार बेलबारी, उर्लाबारी, रतुवामाई नगरपालिका, विराटनगरको कोशी प्रोजेक्ट क्षेत्र, पोखरिया–वालउद्यान केन्द्र तथा जिल्ला समन्वय समितिको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवाल, प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगाललगायतको उपस्थिति रहेको थियो।
कार्यालय स्थापना पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्य निर्वाचन अधिकृत प्रसाईंले फागुन २१ गते हुने निर्वाचनको तयारीलाई आजदेखि थप तीव्र बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार आउँदो आइतबार मोरङका सबै राजनीतिक दलहरूसँग निर्वाचनसम्बन्धी सर्वदलीय छलफल आयोजना गरिनेछ।
प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ निर्वाचन क्षेत्रमा ३०६ मतदान स्थल र ८८८ मतदान केन्द्र तोकिएका छन्। मोरङमा कुल ७ लाख ८३ हजार ५० मतदाता रहेका छन्, जसमा पुरुष ३ लाख ९९ हजार ६ सय ८६, महिला ३ लाख ८३ हजार ३ सय ५७ र अन्य ७ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।





