काठमाडौं। नेपाल आयल निगमले गत आर्थिक वर्ष १३ अर्ब ६० करोड नाफा कमाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले आयल निगमले आर्थिक मन्दी र वित्तीय दबाबका बाबजुद १३ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको बताएका हुन्।

शुक्रबार आयल निगमको ५५औँ वार्षिकोत्सव तथा केन्द्रीय कार्यालयको नयाँ भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले भने, ‘विगतका वर्षमा देखिएको कमजोर आर्थिक अवस्थाका बाबजुद निगमले संस्थागत सुधार र वित्तीय अनुशासन कायम गर्दै करिब १३.६ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ।’

उनले निगमको नेतृत्व, कर्मचारीको मिहिनेत र स्वचालित मूल्य प्रणालीका कारण निगम नाफामा जान सफल भएको बताए। उनले इन्धन आपूर्ति शृङ्खलाको लागत घटाउन, स्मार्ट टर्मिनल विस्तार गर्न र भण्डारण क्षमता वृद्धि गर्न निगम व्यवस्थापनलाई निर्देशन दिए।

इन्डियन आयल कर्पोरेसन (आईओसी)सँग दीर्घकालीन सम्झौताले नेपालमा इन्धनको सुरक्षित र भरपर्दो आपूर्ति भएको उनको भनाइ थियो।

नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री सिन्हाले नयाँ भवनसँगै निगमको कार्यशैलीमा पनि पारदर्शिता र सुशासन हुनुपर्ने विश्वास लिएका थिए।

उनले थपे, ‘यो नयाँ भवनबाट आगामी दिनमा पारदर्शी, प्रविधिमैत्री र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै सेवा प्रवाह हुनेछ भन्ने विश्वास लिएको छु।’

यस क्रममा उनले दैलेखमा भइरहेको पेट्रोलियम अन्वेषण र प्राकृतिक ग्यासको सम्भावनालाई पनि अगाडि बढाइने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया