काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आज पुस २३ गते बुधबार १६ औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभा थानकोटस्थित चन्द्रागिरी हिल्सको बटम स्टेशन परिसरमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ।
सभामा कम्पनीको हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने तथा त्यसको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ।
यस्तै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तथा नयाँ परियोजना निर्माणका लागि प्रभु बैंकबाट लिएको कर्जालाई अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै लेखापरीक्षकको प्रतिवेदनसहित आय–व्यय, नगद प्रवाह र वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने तथा आगामी वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि समावेश गरिएको छ।





