चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २१ गते ।
ताप्लेजुङमा यसवर्ष कोदो खेती र उत्पादन केही वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष जिल्लामा खाद्यान्न बाली कोदोको खेती र उत्पादन वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यहाँ यसवर्ष तीन हजार हेक्टर क्षेक्रफलमा कोदो खेती गरिएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट कुल चार हजार ३२० मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत मुना न्यौपानेले जानकारी दिनुभयो ।

बाली विकास अधिकृत न्यौपानेका अनुसार गतवर्ष दुई हजार ९६२ हेक्टर क्षेत्रफल बराबरको जमिनमा कोदो गरिएको र सो वर्ष चार हजार २५६ मेट्रिकटन कोदो उत्पादन भएको थियो । गत वर्षभन्दा यो वर्ष ३८ हेक्टर क्षेत्रफल बढी जमिनमा कोदो खेती गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, गत वर्षभन्दा यो वर्ष ६४ मेट्रिकटन बढी कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा सीमित किसानले मात्र कोदो खेती गर्ने गरेकामा पछिल्लो केही वर्षयता विस्तारै कोदो खेती विस्तार गर्न थालिएको छ । कोदोको माग बढ्न थालेको साथै कोदोको महत्त्व र उपभोगले हुने फाइदा तथा लाभबारे बुझ्न थालेपछि कोदो खेतीतर्फ विस्तारै किसान आकर्षित हुँदै गएका पाइएको छ ।

स्थानीय (लोकल) उत्पादनको कोदो गाउँघरमा पाथीको (करिव चार किलोग्राम) २०० देखि २५० रुपियाँसम्म मूल्य पर्ने गरेको छ । लोकल कोदोको मूल्य महङ्गो भए पनि माग अनुसार नपाइने गरेको उपभोक्ता बताउँछन् । कोदोको ढिँडो, रोटीसहित विभिन्न परिकार बनाएर उपभोग गर्दा स्वास्थ्यलाई फाइदा हुने भएकाले माग बढ्दो अवस्थामा रहेको बताइएको छ ।

लगानीअनुसार आम्दानी कम हुने हुँदा कोदो खेतीलाई प्राथमिकता नदिने गरिएको किसानको भनाइ छ । कोदो खेती गर्दा थेरै जनशक्तिसँगै लगानी लाग्ने गरेको किसान बताउँछन् । त्यस्तै पछिल्लो समय गाउँदेखि सहरतिर बसाइँ सर्ने क्रम बढ्नुका साथै विभिन्न कारण गाउँबाट जनशक्ति पलायन हुने क्रमले पनि कोदो खेती कम हुन थालेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया