काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा नरहेको बताउनुभएकाे छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाण्डाैमा आयोजना गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य, सामूहिक पहल नामक कार्यक्रममा अध्यक्ष ढकालले लगानीको वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँका अनुसार समृद्धिका लागि निजी क्षेत्रलाई संरक्षण गर्ने विषय अझै पनि ओझेलमा परेको छ । निजी क्षेत्रले निर्बाध रूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन सकेको छैन ।

अध्यक्ष ढकालले गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहिनता मौलाउँदै जाने हो कि भन्ने आशङ्का बढेको उल्लेख गर्नुभयाे । उहाँका अनुसार उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्बाध पेशा–व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म देशमा लगानी हुँदैन ।

उहाँले भन्नुभयो, ‘पछिल्लो डेढ वर्षदेखि सरकार झन्डै डेढ खर्ब रुपैयाँले घाटामा छ । बैंकहरू झन्डै ११ खर्ब रुपैयाँ लगानी गर्न तयार छन् । निजी क्षेत्र रकम लिएर उद्यम गर्न चाहँदैन । निजी क्षेत्रले निर्माण गर्ने पूर्वाधारमा पनि विभिन्न बहाना बनाएर अवरोध हुने गरेको छ । पूर्वाधार निर्माण र उद्योग कल कारखाना भएनन् भने रोजगारी कसरी सम्भव होला ? स्वदेशमै रोजगारी दिने कल्पना कसरी सम्भव होला ? सरकारले वर्षको ३ हजारदेखि ३ हजार ५ सय जनालाई मात्रै रोजगारी दिनसकेको छ । निजी क्षेत्र सङ्कुचित हुँदा त्यहाँ पनि अवसर छैन । त्यसैले युवाहरू विदेशिन बाध्य छन् । विदेशमा पुगेर निजी व्यवसायमा नेपाली युवाहरूले काम गर्न हुने हो भने नेपालमै निजी उद्योग तथा प्रतिष्ठानमा काम गर्न किन नहुने ? समस्या एउटै छ, यहाँ निजी क्षेत्रले काम गर्न पाएको छैन । नीतिगत अवरोधहरू छन् । प्रक्रियाहरू झन्झटिला छन् । व्यवसायीमैत्री वातावरण बन्न सकेको छैन । सर्वसाधारणमा समेत निजी क्षेत्रप्रति नकारात्मक भावना छ । पछिल्लो समयको आगजनी र तोडफोडले थप निराश बनाएको छ । त्यसैले नेपाल उद्योग वाणिज्य महासङ्घले शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल आवश्यक भएको महसुस गर्‍याे । अर्थतन्त्रमा ८१ प्रतिशत तथा रोजगारीमा ८६ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रप्रतिको सरकारकाे दृष्टिकोण जान्न खोजेका छाैँ ।’

अध्यक्ष ढकालले आफूहरूले राजनीति प्रतिबद्धता चाहेको बताउनुभयो । राजनीतिक स्थायित्वका लागि चुनाव गरेर लोकतन्त्र संस्थागत गर्न जरुरी रहेको उहाँकाे भनाइ छ ।

अध्यक्ष ढकालले निर्धारित समयमै चुनाव होस् र स्थायित्व कायम होस् भन्ने निजी क्षेत्रको चाहना रहेको उल्लेख गर्नुभयाे । उहाँका अनुसार यो वा त्यो बहानामा आउँदा दिनमा निजी क्षेत्रमाथि आक्रमण हुने वातावरण कहीँ कतैबाट सिर्जना हुनुहुँदैन ।

तपाईको प्रतिक्रिया