बाबुराम देवकोटा

सिन्धुलीमाढी, साउन २६ गते । सिन्धुलीका विभिन्न स्थानमा रहेका प्राकृतिक झरना पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएका छन् ।

गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन झरना पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएपनि आवश्यक पूर्वाधार र प्रभावकारी प्रचार–प्रसारको भने अभाव रहेको स्थानीयको गुनासो छ । कमलामाई नगरपालिका, दुधौली नगरपालिका र घ्याङ्लेख गाउँपालिकाका विभिन्न स्थानमा रहेका झरनामा विशेषगरी बिदाको दिन पर्यटकको चहलपहल बढ्ने गरेको छ ।

कमलामाई नगरपालिका–२ मा रहेको सरस्वती झरना, वडा ४ को काँसीराम झरना, घ्याङ्लेख गाउँपालिका–१ को सेमथान झरना, वडा ४ को तिफ्रुङ झरना र दुधौली नगरपालिका–१३ अरुणठाकुरमा रहेको सेतीदेवी झरना पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेका छन् ।

कमलामाई नगरपालिका–२ का वडाध्यक्ष इन्द्रबहादुर वाइबाका अनुसार सरस्वती झरनामा दैनिक दुई सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । सार्वजनिक बिदाबाहेकका दिनमा पनि करिब दुई सयको हाराहारीमा पर्यटक आउने गरेको र बिदाको दिनमा भने एक हजारभन्दा बढी पुग्ने गरेको उहाँले बताउनुभयो ।

झरनासम्म पुग्ने कच्चि सडक निर्माणका लागि नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा १० लाख रुपिया खर्च गरेको छ । सडक निर्माण भए पनि झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन अझै धेरै काम गर्न बाँकी रहेको वडाध्यक्ष वाइबाले बताउनुभयो ।

‘झरनासम्म जान–आउन सहज होस् भनेर सिँढी, रेलिङलगायतका पूर्वाधार बनाउने योजना छ,’ उहाँले भन्नुभयो, ‘सरस्वती झरनाको प्रवर्धन गर्न नगरपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ । बजेट भने छुट्याउन बाँकी छ ।’

सिन्धुलीका झरनामा जिल्लाभित्रका स्थानीयसँगै तराईका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही लगायत जिल्लाबाट समेत पर्यटक आउने गरेका छन् । झरनाको गर्जन, शीतल हावा र वरपरको प्राकृतिक दृश्यको आनन्द लिन तथा सामाजिक सञ्जालका लागि फोटो र भिडियो बनाउन पर्यटक पुग्ने गरेका स्थानीय बताउँछन् ।

सामाजिक सञ्जालमा झरनाका फोटा तथा भिडियो सार्वजनिक हुने क्रम बढेसँगै पछिल्लो समय पर्यटकको आकर्षण पनि बढेको स्थानीयको भनाइ छ ।

जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट नजिकै रहेको कमलामाई नगरपालिका–४ स्थित काँसीराम झरनामा पनि बिदाको दिन पर्यटकको चहलपहल बढ्ने गरेको स्थानीय हरि रायमाझीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा रहेका धार्मिक तथा पर्यटकीयस्थललाई एक–अर्कासँग जोडेर पूर्वाधार निर्माण र प्रचार–प्रसार गर्न सके पर्यटनको विकासमा थप टेवा पुग्ने देखिन्छ ।

त्यस्तै, दुधौली नगरपालिका–१३ अरुणठाकुरस्थित सेतीदेवी झरनामा पनि पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको छ । दुधौली नगरपालिकाका प्रवक्ता तथा वडा १३ का वडाध्यक्ष दीपक खड्काका अनुसार झरनासम्म पर्यटकको पहुँच सहज बनाउन नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।

‘पहिले मानिस झरनासम्म पुग्नै सक्दैनथे । बाटो असाध्यै भिर थियो,’ उहाँले भन्नुभयो, ‘गत आवमा स्वरोजगार कार्यक्रममार्फत गोरेटो बाटो निर्माण गरेर आवतजावत सहज बनाएका छौँ ।’ झरनाबाटै निर्माण गरिएको कुलोको बाटोलाई समेत ढलान तथा रेलिङ राखेर व्यवस्थित गरिएको उहाँले बताउनुभयो ।

पूर्वाधारमा क्रमिक सुधार भएसँगै सेतीदेवी झरना अवलोकनका लागि स्थानीयसँगै तराईका विभिन्न जिल्लाबाट पर्यटक आउन थालेको नगरपालिकाले जनाएको छ ।

स्थानीयका अनुसार सिन्धुलीका ग्रामीण क्षेत्रमा रहेका यी झरनालाई प्राकृतिक सौन्दर्य, ग्रामीण जनजीवन, विभिन्न जातजातिको मौलिक संस्कृति र पहाडी भूगोलसँग जोडेर पर्यटन विकास गर्न सकिने पर्याप्त सम्भावना छ । त्यसका लागि सडक तथा पदमार्ग, सिँढी, रेलिङ, विश्रामस्थल, शौचालय, खानेपानीलगायत आधारभूत पूर्वाधार निर्माणसँगै पर्यटकीयस्थलको योजनाबद्ध प्रचार–प्रसार आवश्यक रहेको उनीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया