विराटनगर — विराट ट्रेड एक्स्पोको अवसर पारेर इक्विटी डेभलपर्सको परियोजना विराट कोशी इलेक्ट्रिक यातायात (बीकेई) औपचारिक रूपमा सार्वजनिक गरिएको छ। कोशी प्रदेशकै पहिलो डिजिटल तथा विद्युतीय सार्वजनिक यातायात प्रणालीका रूपमा बीकेई सुरु गरिएको हो।

दैनिक सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुले भोग्दै आएका भीडभाड, ट्राफिक जाम, सिट नपाइने, सेवा ढिलाइ, अनियमित भाडादर तथा यात्रु सुरक्षासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले बीकेई अघि ल्याइएको परियोजनाले जनाएको छ।

बीकेई प्रणालीमा मोबाइल एप तथा वेबसाइटमार्फत टिकट बुकिङ, रियल–टाइम सवारी ट्र्याकिङ, डाटामा आधारित व्यवस्थापन प्रणाली र एपकै माध्यमबाट सवारी रोक्ने सुविधा समावेश गरिएको छ। यसले यात्रुहरूले अब सडकमा हात हल्लाएर गाडी रोक्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य लिएको छ।

परियोजनाअन्तर्गत सञ्चालनमा ल्याइने विद्युतीय सवारी साधन वातावरणमैत्री हुनुका साथै समयमै, सुरक्षित र व्यवस्थित सार्वजनिक यातायात सेवा प्रदान गर्ने उद्देश्य रहेको आयोजकले बताएका छन्।

तपाईको प्रतिक्रिया