विराटनगर / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले समानुपातिकतर्फका उमेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेले आ–आफ्नो राजनीतिक प्राथमिकता, पुस्तान्तरण र समावेशितालाई जोड दिँदै सूची तयार गरेका छन् ।
नेपाली कांग्रेसले पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा राखेको छ । पार्टी पदाधिकारीमध्ये समानुपातिक सूचीमा समावेश हुने आङ्देम्बे एक्ला हुन् । उनले २०७० सालमा संविधानसभा सदस्य जितेका थिए भने २०७४ र २०७९ को निर्वाचनमा पराजय व्यहोरेका थिए । कांग्रेसले अर्जुननरसिंह केसीलाई दोस्रो नम्बरमा राखेको छ । केसीलाई सूचीमा समावेश गर्ने वा नगर्ने भन्ने विषयमा अन्तिम समयसम्म आन्तरिक छलफल चलेको नेताहरूले बताएका छन् । मध्यरातसम्मको बैठकपछि कांग्रेसले समानुपातिक उमेदवार टुंग्याएको हो ।
उता, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मध्यरातमै समानुपातिक बन्दसूची बुझाएको छ । मंगलबार बिहान पौने ६ बजे रास्वपाका नेताहरू सूचीसहित निर्वाचन आयोग पुगेका थिए । यसअघि पार्टी सभापति रवि लामिछाने, पूर्व प्राधिकरण प्रमुख कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच चुनावी सहमति भएको जनाइएको छ । सहमतिअनुसार तीनै जना रास्वपाबाट चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन् ।
रास्वपाको सूचीमा कुलमान समूहबाट १८ र बालेन समूहबाट ४० जना समावेश गरिएको बताइएको छ । समानुपातिक बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि गायक प्रकाश सपूतसम्मका नाम परेका छन् । साथै आसिफ साह, रिमा विश्वकर्मा, मोहना अन्सारी, समीक्षा बास्कोटा, रञ्जु दर्शना, प्रमोद न्यौपानेसहित ‘जेन–जी’ प्रतिनिधित्व गर्ने युवाहरूलाई पनि प्राथमिकता दिइएको छ ।
नेकपा एमालेले भने ११० जनाको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । निर्वाचन विभाग प्रमुख निरज आचार्यको नेतृत्वमा पुगेको टोलीले सूची दर्ता गराएपछि तीन पुस्ताको संयोजन गरिएको जानकारी दिएको छ । पुरानो नेतृत्वसँगै ४० वर्ष मुनिका नयाँ र उदीयमान अनुहारलाई पनि समेटिएको आचार्यले बताए ।
एमालेको सूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, पुष्प कँडेललगायत रहेका छन् भने पिछडिएको समुदायतर्फ गोरखबहादुर बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत आठ जनाको नाम समावेश छ । नयाँ पुस्ताबाट कुरानुतु बुर्ताकोटी, नीता घतानी, भक्तकुमारी लामा, अनिता कन्दङवा र साजिदा सिद्धिकी रहेका छन् ।
महिला सहभागितामा पद्मा अर्याल, टुका हमाल, निरू पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका लिम्बू लगायतका नाम छन् । साथै मिना बराम, मनकुमारी तितुङ, माया देवी पोडेनी, निर्मल दउला, रामपुकार दास तत्म, सन्तबहादुर चेपाङ र ईच्छा चौधरीलगायत पनि समानुपातिक सूचीमा परेका छन् ।
दलहरूले बुझाएका समानुपातिक बन्दसूचीले आगामी निर्वाचनमा नयाँ–पुरानो नेतृत्वको प्रतिस्पर्धा र समावेशी प्रतिनिधित्वको राजनीतिक चित्र स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।





