बेलबारी । मोरङको केराबारी गाउँपालिका ५ लाफा टोलमा एम्बुलेन्स प्रयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने २ जना पक्राउ परेका छन । आईतबार राति करिब ११ बजे एम्बुलेन्समा लुकाइछिपाई गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका ईन्स्पेक्टर राजीव गिरीको टोली र इलाका प्रहरी कार्यालय केराबारीसहितको संयुक्त टोलीले चेकजाँच गरेको थियो ।
प्रहरी टोलीले प्र-१-०६-००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोकी जाँच गर्ने क्रममा चालकसहित सवार व्यक्तिहरूले प्रहरी देख्नासाथ गाडी छाडेर भाग्ने प्रयास गरेका थिए । उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी सहायक निरीक्षक फजिन्द्र तोलाङ्गीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेका थिए । त्यसपछि दुई जनालाई नियन्त्रणमा लिइ एम्बुलेन्स जाँच गर्दा १६ पोका लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका ६ निवासी ३५ वर्षीय निश्चल राई र सोही एम्बुलेन्समा सवार सागुरिगडी गाउँपालिका २ निवासी २० वर्षीय खगेन्द्र लिम्बु रहेका छन् ।
केराबारीमा एम्बुलेन्समा लुकाएर गाँजा तस्करी,२ जना पक्राउ





