मोरङ : नेपाल–भारत खुला सीमालाई प्रयोग गरी हुने लागूऔषध तस्करी नियन्त्रणमा प्रहरीले कडाइ बढाएको छ।

मोरङको सीमावर्ती क्षेत्रमा शनिबार मध्यराति गाँजा तस्करी भइरहेको सूचनापछि खटिएको प्रहरी टोलीले हवाई फायर गर्दै ३३० केजी गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जहदा गाउँपालिका–२ तारिगामा राति करिब १०ः३० बजे गाँजा भारततर्फ लैजाँदै गरिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरिएको थियो।

प्रहरीका अनुसार टोली घटनास्थल पुग्दा टाउकोमा गाँजाको बोरा बोकेर सीमा पार गराउने प्रयास भइरहेको थियो।

प्रहरी देख्नासाथ तस्कर समूहले गाँजाका बोरा फालेर भाग्न खोजेपछि नियन्त्रणका लागि एक राउन्ड हवाई फायर गरिएको मोरङ प्रहरीले जनाएको छ।

त्यसपछि भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका व्यक्तिको साथबाट ३३० केजी गाँजा बरामद गरिएको छ। उनीहरूलाई बरामद गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया