काठमाण्डाै – काठमाण्डौको टोखा नगरपालिका–१० मा रहेको मनोहर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक बासुदेब अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उमेरहद नाघेकी शिक्षिकालाई गैरकानूनी रूपमा नियुक्ति दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

माध्यमिक तहको शिक्षक पदमा नियुक्तिका लागि २१ वर्षदेखि ४० वर्ष उमेर हुनुपर्ने कानूनी व्यवस्था छ । तर शिक्षिका पनेरुको उमेर ४० वर्ष कटिसकेको अवस्थामा पनि प्रधानाध्यापक अधिकारीसँगको मिलेमतोमा किर्ते कागजात तयार पारि नियुक्ति लिए/दिएको पाइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले विद्यालय व्यवस्थापन समितिको निर्णय पुस्तिकामा टिपेक्स लगाइ सच्याएर, केरमेट गरि र थपघट गरेर पुरानो मिति राखेर नक्कली निर्णय तयार पारेको अख्तियारका सहायक प्रवक्ता गणेबहादुर अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया