थाइल्यान्ड र क्याम्बोडियाले तत्काल युद्धविराममा सहमति जनाएका छन् । दुवै देशले केही हप्तादेखि चलिरहेको सीमा सङ्घर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका समाचारसंस्था एएफपीले जनाएका छन् ।

पछिल्लो तीन हप्तामा भएको झडपमा कम्तीमा ४७ जनाको ज्यान गएको छ भने एक लाख जनाभन्दा बढी मानिस विस्थापित भएका छन् । सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुनै पनि प्रकारको आक्रमण नगर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई छिट्टै घर फर्कन अनुमति दिने व्यवस्था लागू गर्नेछन् । साथै साइबर अपराध नियन्त्रणमा सहकार्य गर्ने पनि दुवै देशले प्रतिबद्धता जनाएका छन् ।

यो युद्धविराम तीन दिने सीमा वार्तापछि आएको हो, जसमा आसियान, अमेरिका, चीन र मलेसियाले मध्यस्थता गरेका थिए । विवाद पुरानो उपनिवेशकालीन सिमाङ्कनको कारण सुरु भएको हो, जहाँ प्राचीन मन्दिरमा दुवै देशको दाबी छ ।

थाइल्यान्डका प्रधानमन्त्रीले यसलाई अन्तिम सहमति बनाउन आग्रह गर्दै शान्ति कायम गर्ने र नागरिकलाई घर फर्काउन सहयोग गर्ने बताउनुभयो । थाइल्यान्डमा आउँदो फेब्रुअरी ८ मा आम चुनाव हुने तय भएको छ ।

तपाईको प्रतिक्रिया