इटहरी : सामान्य घरेलु विवाद क्षणमै ज्यानै लिने खतरामा परिणत हुन सक्छ भन्ने उदाहरण सुनसरीको दुहबीमा देखिएको छ ।
दुहबी नगरपालिका–३ मुक्तिनाथ मन्दिर क्षेत्रका एक व्यक्तिले आफ्नै श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाउँदा महिला गम्भीर घाइते भएकी छन् ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार ३३ वर्षीय मुस्तफा सेखले घरायसी वादविवादकै क्रममा २८ वर्षीया श्रीमती खुस्बु खातुनमाथि पेट्रोल खन्याएर आगो सल्काएका थिए ।
घटनापछि छिमेकी र स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका कारण पीडित महिलाको ज्यान जोगिन सहयोग पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीले घाइते महिलाको उद्धार गरी नजिकैको सामुदायिक अस्पताल पुर्याएको थियो ।
तर आगोले शरीरका दुवै हात, घाँटी, छाती र अनुहारमा गम्भीर जलन भएपछि त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि विराटनगरस्थित पारस अस्पताल रिफर गरिएको हो ।
घटनामा संलग्न पति मुस्तफालाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना घरेलु हिंसासँग सम्बन्धित देखिएको छ ।





