हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), पुस १० गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले ब्यावसायिक रुपमा सञ्चालनमा आएको पाँच महिना नपुग्दै ५ अर्बभन्दा बढी राजस्व संंकलन गरेको छ ।
चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट लिजी–नेचुङ (कोरला) बाट नियमित विद्युतीय सवारी साधनसहित अन्य सामान बोकेका कन्टेनरहरू भित्रिएसँगै पुस महिनाको १० गतेसम्म ५ अर्ब ६ करोड ६२ लाख राजस्व उठाएको भन्सार कार्यालयले जनाएको छ ।
विहान र बेलुकीको समयमा माइन तापक्रम रहेको भन्सार कार्यालयमा २ हजार ७४ विद्युतीय (इभी) गाडीसहित मालवाहक, कन्टेनरमार्फत सामान पैठारी भएको छ भने निकासीतर्फ नेपालमा उत्पादन हुने हस्तकला सामग्री, कपडा लगायतका सामान रहेको छ ।
यो अवधिमा १० अर्ब ८२ करोड ९८ लाख बराबरको सामान आयात तथा १८ करोड ९७ लाख ७८ हजार बराबरको निर्यात भएको भन्सार कार्यालय प्रमुख रमेश खड्काले बताउनुभयो ।
भन्सार कार्यालय प्रमुख खड्काले भन्नुभयो, ‘‘एकसाताको अवधिमा ३ सयबढी सवारीसाधन भित्रिएका छन्, विद्युतीय सवारीसाधनको जाँचपास गरिएको छ, सिमापारीबाट नियमित सामान भित्रिएको छ ।’’
नेपालबाट निकासीतर्फ नेपालमा उत्पादन हुने हस्तकला सामग्री, कपडा लगायतका सामान रहेको छ । तिब्वत क्षेत्रमा जाडोयाममा प्रयोग हुने नेपालमा र्नििमत कपडा, हस्तकलाका सामग्री रुचाइरहेकाले निर्यातमा सामान्य सुधार देखिएको छ । कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा ल्याएर जाँचपासपछि १ सय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्ड हुँदै पोखरा गुडाएरै लैजाने गरिन्छ ।
नेपाल–चीन २४ नम्बर स्तम्भ हुदैं भन्सार कार्यालयमा पुस महिनाको अन्तिमसम्म चहलपहल हुने अनुमान छ । ब्यावसायिक रुपमा कोरला नाका सञ्चालनमा आएपछि उपल्लो मुस्ताङबासीले चिसोमा समेत ब्यापार तथा भन्सारबाट आउने सामान ढुवानीका कारण कोरला नाकामा मजदुर, चालक र केही स्थानीय ब्यापारी रहेका छन् ।
भन्सार कार्यालयबाट जाँचपास भएका सामान सडकखण्डमा जमेको बरफ फुटाउँदै ढुवानी गर्ने गरिएको छ । भन्सार कार्यालयमा विद्युतीय सवारीसाधन सहित कन्टेनरहरु राखिएको छ । समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा २०८० कात्तिक २७ देखि औपचारिक उदघाटन भएको नाका चालु आर्थिक बर्ष २०८२– ८३ भदौ महिनाको ३० गतेदेखि ब्यावसायिक रुपमा सञ्चालनमा आएको थियो ।





