विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा विराटनगरमा आजबाट ‘विराट ट्रेड एक्स्पो–२०२५’ सुरु हुँदै छ । एक्स्पोको सबै तयारी पूरा भइसकेको आयोजक मोरङ उद्योग व्यापार संघ, विराटनगरले जानकारी दिएको छ । आज दिउँसो २ बजे एक्स्पो उद्घाटन गर्ने तयारी छ ।

आयोजकले मंगलबार एक्स्पो स्थलमै पत्रकार सम्मेलन गरी ११ दिने महोत्सवका लागि आवश्यक सबै भौतिक पूर्वाधार तथा व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी दिइसकेको छ ।

एक्स्पो उद्घाटन गर्न संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनाल आउने बताइएको छ । मौसम अनुकुल नभएका कारण हवाइ उडान नरोकिएमा अर्थमन्त्री खनाल एक्स्पो उद्घाटनमा सहभागी हुने छन् ।

एक्स्पोका संयोजक अमितकुमार शारदाका अनुसार महोत्सवमा स्वदेशी तथा विदेशी गरी कुल २३० वटा स्टलहरू रहनेछन् । यसपटक तीनवटा ठूला ह्याङ्गर (डोम) भित्र २०० भन्दा बढी स्टलहरू निर्माण गरिएका छन् । प्रदर्शनीमा कृषिजन्य, औद्योगिक उत्पादन, कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिसम्बन्धी सामग्रीहरू रहनेछन् । नेपालका अतिरिक्त छिमेकी राष्ट्र भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

महोत्सवको अवधिभर लगातार ८ दिनसम्म स्टार्टअप, महिला उद्यमशीलता, पर्यटन, एआई (कृत्रिम बुद्धिमत्ता), सूचना प्रविधि र नयाँ कर प्रणाली जस्ता समसामयिक ९ ओटा विषयहरूमा ‘थिमेटिक सेसन’ र सेमिनारहरू सञ्चालन गरिनेछन् । यसका लागि आइडिया स्टुडियो र स्विस कन्ट्याक्ट जस्ता व्यावसायिक संस्थाहरूले सहकार्य गरेका छन् ।

आर्थिक मन्दीको वर्तमान अवस्थामा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन यो एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ । प्रदर्शनीमा करिब २ लाख दर्शकले अवलोकन गर्ने र २० देखि २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया